२०८१ असोज ३, बिहिवार , १०:३६:५४ बजे

Sajhamanch
'

सिम्रिक साकोसको वार्षिक साधारणसभामा दुई पत्रकार पुरस्कृत

बुधवार, असोज २, २०८१

झापा । कोशी प्रदेशका चारवटा जिल्लामा कार्यक्षेत्र रहेको दोस्रो ठूलो संस्था सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारणसभाले सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति निर्विरोध रुपमा चयन गरेको छ ।

नयाँ नेतृत्वलाई संस्थाको १४औं वार्षिक साधारणसभा अन्तरगत माइन्युट प्रमाणीकरण कार्यक्रमका बीच बुधबार सपथ ग्रहणसँगै निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको हो ।

निर्वाचन समितिका सदस्य डिल्ली दाहालले सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिमा निर्वाचित पदाधिकारी र सदस्यहरुको नाम घोषणा गरेका थिए ।

जसअनुसार संस्थाको अध्यक्षमा सुवास भट्टराई, उपाध्यक्षमा किरण कपुरी, सचिवमा इन्द्रबहादुर कार्की र कोषाध्यक्षमा मेहरमान विष्ट निर्विरोध निर्वाचित भए ।

यसैगरी, सञ्चालक समितिको सदस्यहरुमा लीला मुखिया अधिकारी, शशिकला मुखिया, चन्द्रकला भट्टराई, प्रकाश भट्टराई र नविन योगी निर्वाचित भएका छन् ।

लेखा सुपरीवेक्षण समितिको संयोजकमा रमेश अधिकारी र सदस्यहरुमा मीनप्रसाद गुरागाईं र ओमराज राई पनि निर्विरोध चयन भए ।
नवनिर्वाचित सञ्चालकहरुलाई निर्वाचन समिति संयोजक अधिवक्ता पवन कार्कीले सपथ ग्रहण गराएका थिए ।

दोस्रो कार्यकालका लागि सर्वसम्मतरुपमा अध्यक्ष चयन भएपछि प्रतिवद्धता मन्तब्य राख्दै सुवास भट्टराईले आफूले कुनै व्यक्तिगत स्वार्थ नराखीकन सामुहिक हितमा काम गरिरहेको र अब पनि गरिरहने विश्वास व्यक्त गरे । ‘आफू दर्जनौं संस्थाको नेतृत्वमा रहेर सामाजिक काम नै गरिरहेकाले प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाहा गरिरहेको छु र सदैव गरिरहनेछु’ अध्यक्ष भट्टराईको भनाई थियो ।

बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा दिप प्रज्वलन गरी समुद्घाटन गरिएको माइन्युट प्रमाणीकरण सभामा झापाका दुईजना सक्रिय पत्रकारहरु प्रदीप परियार र विष्णुप्रसाद पौडेललाई नगद पुरस्कारसहित सम्मानित गरिएको थियो ।

यस्तै संस्थामा उत्कृष्ट वित्तीय कारोबार गर्ने सदस्यहरुलाई मायाको चिनासहित सम्मान गरिएको थियो भने एकजना उद्यमशील महिला सदस्यलाई सिलाई मेशिन प्रदान गरी हौसला बढाइएको छ ।

संस्थाले उत्कृष्ट सेवा केन्द्र र उत्कृष्ट कर्मचारीहरुलाई पनि सम्मान र पुरस्कार प्रदान गरेको थियो ।

सो समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख प्रसाईले सरकारले कसैको पनि कर्जा मिनाहा गर्नै नसक्ने दोहोर्याएकी थिइन् । ‘सहकारी संस्थाले युवालाई रोजगारीमात्र दिएको छैन’ नगरप्रमुख प्रसाईंले भनिन्, ‘आर्थिक अवस्था कमजोर भएका सदस्य र समाजलाई नै सहयोग पुर्याइरहेको छ । तर यसैको विरुद्धमा फेरि अनर्गल प्रचार गरेर केही मान्छेहरुले दुःख दिइरहेका छन् ।’

माइन्युट प्रमाणीकरण सभामा संस्थाका अध्यक्ष सुवास भट्टराईले गत आर्थिक वर्षको वित्तीय विवरणहरु सुनाउँदै चालू वर्षका लागि निर्धारित नीति तथा कार्यक्रमहरु बारे जानकारी दिए ।

माइन्युट प्रमाणीकरण सभामा आमन्त्रित अतिथि एवम् सहभागीहरुलाई शाब्दिक स्वागत गर्दै संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले इकाई साधारण सभाको प्रक्रिया र त्यहाँ उठेका जिज्ञासाहरु एवम् सम्पन्न निर्वाचन सम्बन्धी जानकारी प्रवाह गरे ।

सिम्रिक साकोसका विभागीय प्रमुख विजय बस्नेतले सञ्चालन गरेको सो माइन्युट प्रमाणीकरण सभामा नेपाल पत्रकार महासंघ झापा शाखाका उपााध्यक्ष केशव भट्टराई र झापा जिल्ला सहकारी संघका सञ्चालक केशव बस्नेतले आ–आफ्ना धारणा राखेका थिए ।

सम्बन्धित खबर