२०८१ कार्तिक २४, शनिवार , ०६:१८:५२ बजे

Sajhamanch
'

झापाको गौरीगञ्जमा आगलागी, ३१ लाख बराबरको क्षति

मङ्गलवार, असोज १, २०८१

झापा । झापाको गौरीगञ्जमा भएको आगलागीबाट करिब ३१ लाख बराबरको क्षति भएको छ ।

मंगलबार बिहान ९ बजेतिर झापा गौरीगञ्ज गाउँपालिका-६ देवकोटा टोल बस्ने कृष्ण राजवंशीको घरमा आगलागी भएको हो । टिनको छाना भएको, इँटा र सिमेन्टको गारो भएको राजवंशीको ५ कोठे पक्की घरमा अचानक विद्युत् सर्ट भई आगलागी भएको थियो ।

आगलागीबाट राजवंशीको घर पूर्णरुपमा जलेर नष्ट भएको छ । उनको घरभित्र रहेको नगद ५ लाख ५० हजार, साढे ३ तोला सुन, चाँदी ५० तोला ,अन्नपात, काठ, लत्ताकपडा, भाडावर्तन र कागजपत्र गरी अन्दाजी २५ लाख बराबरको क्षति भएको छ ।

त्यस्तै सोही घरमा डेरा गरी बस्ने मेघनाथ राजवंशी र मोहन दासको पनि क्षति भएको छ । सोही घरमा डेरा गरी बस्ने लेखापढी व्यवसायी राजवंशीको कोठाभित्र रहेको नगद १० हजार ,सुन २ तोला, चाँदी ७ तोला ,अन्नपात, लत्ताकपडा, भाडावर्तन , कागजपत्र, नागरिकता ५० वटा, धनीपुर्जा ४० वटा जलेर नष्ट भएको हो ।

उनको ४ लाख बराबरको क्षति भएको जनाइएको छ । त्यस्तै दासको कोठाभित्र रहेको चाँदी १० तोला, अन्नपात, लत्ताकपडा, भाडावर्तन र कागजपत्र जलेको छ । उनको पनि करिब २ लाख बराबरको क्षति भएको छ ।

इलाका प्रहरी कार्यालय गौरीगंजको टोली ,गौरादह , दमक र कमलको दमकल र स्थानीयबासीको सहयोगमा उक्त आगो १०ः०५ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

मङ्गलवार, असोज १, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर