२०८१ पौष २६, शुक्रवार , ०२:२१:४० बजे

Sajhamanch
'

प्रभावकारी बन्दै दुधे आयुर्वेद औषधालयको उपचार : एलोपेथिक छाडेर आयुर्वेदिक उपचारमा आकर्षण बढ्दै

आइतवार, भदौ ३०, २०८१
  • सरोज भट्टराई

शिवसताक्षी । पछिल्लो समय रोग निको भए पनि दीर्घकालीन रुपमा स्वास्थ्यमा असर नगर्ने भएपछि सर्वसाधारण बिरामीको आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै गएको छ । झापाको शिवसताक्षीमा आयुर्वेद पद्धतिबाट उपचार गर्ने विरामीको संख्या विगतका वर्षहरुमा भन्दा बढ्दै गएको तथ्याङ्क छ ।

शिवसताक्षीको दूधेमा आयुर्वेद औषधालय छ । यो पुरानो औषधालय हो । जसमा उपचार गराउनेको विरामीको संख्यामा दिन प्रतिदिन बढ्दो रहेको औषधालयका कविराज तथा निरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए ।

‘अहिले विकसित मुलुकमा हर्बल भनेर आयुर्वेदिक औषधिको प्रयोग बढेको छ’, उनले भने, ‘पहिलेको तुलनामा नेपालमा पनि बढ्दै छ । आयुर्वेदको महत्व बुझ्दै गएपछि यसमा अझ आकर्षण बढ्दै जानेछ ।’

दुधे आयुर्वेद औषधालयले गत आर्थिक २०८०/८१ मा ६ हजार ३१८ जनालाई सेवा दिएको थियो । जसमा बहिरंग सेवा ३ हजार ५०५ जना, ज्येष्ठ नागरिक स्वस्थ्य प्रबर्धन कार्यक्रमबाट ४०२ जना, तनपायी आमा तथा शिशुको स्वास्थ्य पवर्धन कार्यक्रम मार्फत २५६ जना, पञ्चकर्म/पूर्वकर्म कार्यक्रम १ हजार ४२२ जना नागरिक आरोग्य क्लिनिक वडा नं. ४ र ३ मा ३५१ जना र ल्याव सेवा सेवाग्राही ३८२ जना रहेको तथ्यांकले देखाउँछ ।

दुधे आयुर्वेद औषधालयका कविराज निरीक्षक पोखरेलले आयुर्वेद सेवा विस्तार गर्न शिवसताक्षी नगरपालिकामा आयुर्वेदन सम्बन्धी ठोस नीति नभएकाले सानो घेरामा रहेर सेवा गर्नुपर्ने बाध्यता रहेको जनाए ।

यही विषयमा नगरप्रमुख मेगाहाङ्ग थोप्रासँग जिज्ञासा राख्दा आयुर्वेद औषधालयलाई नगरपालिकाले प्रोत्साहन गर्ने जानकारी दिए । ‘हामीसँग ठूलो बजेट छैन, सेवाग्राहीका लागि सुविधा सम्पन्न भवन छैन तर पनि नगरपालिकाले आयुर्वेद चिकित्सा प्रणालीको विकासलाई प्रोत्साहन गर्ने, योग अभ्यास तथा ध्यान केन्द्र वडा तथा समुदायस्तरमा विस्तार गर्ने र योग शिविरहरु संचालन गर्ने नीति बनाएको छ’ नगर प्रमुख थोप्राले प्रष्ट्याएका छन् ।

स्तनपायी आमा र शिशुको स्वास्थ्य हेरचाहको लागि दुग्धबर्धक औषधी वितरण कार्यक्रम प्राथमिकता दिँदै नगरका सबै वडाहरुमा दूधे आयुर्वेद औषाधालयले नगरपालिकासँग समन्वयमा विभिन्न कार्यक्रमहरु मार्फत नागरिकको स्वास्थ्य परीक्षण र औषधि वितरण गर्दै आएको नगरप्रमुख थोप्राले बताए ।

उपचारका लागि सुगर, पायल्स, ग्याष्ट्रिक, बाथलगायतका विरामीहरु आउने गरेका छन् । दीर्घरोग भएका लामो समय एलोपेथिक औषधि प्रयोग गरेर ठिक नभएका विरामीहरु पनि आउने गरेको दूधे आयुर्वेद औषधालयले जनाएको छ । औषधालयले उपचार गर्न आउनेलाई निःशुल्क औषधिसमेत वितरण गर्दै आएको छ ।

दूधे आयुर्वेदले स्तनपायी आमा (मातृशिशु स्वास्थ्य) कार्यक्रम, निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, जेष्ठ नागरिकको स्वास्थ्य प्रवर्धन कार्यक्रम, पूर्वकर्म, गाउँघर क्लिनिक तथा नसर्ने रोग व्यवस्थापन लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको जनाइएको छ ।

दूधे आयुर्वेदमा वास्फिकरणबाट थेरापी सेवा, ल्याव सेवा हाललाई उपलब्ध छ । नगरको गौरवको रुपमा रहेको एकमात्र आयुर्वेद औषधालयलाई नगर आयुर्वेद अस्पतालको रुपमा स्तरोन्नतिको लागि आवश्यक जग्गा प्राप्ती तथा सुविधा सम्पन्न भवन निर्माण गरी योग ध्यान हल, फिजियोथेरापी, एक्यूपन्चर, एक्सरे, भिडियो एक्सरे, एडभान्स ल्याव सेवा जस्ता प्रविधिहरु स्थापना गर्नुपर्ने आवश्यकता रहेको कविराज पोखरेलको भनाई छ ।