झापा । झापाको बिर्तामोडस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा पाठेघरको शल्यक्रियापछि एक वृद्धाको मृत्यु भएको छ ।
मेचीनगर नगरपालिका ३ की ६४ वर्षीया शुकमाया लिम्बूको मृत्यु भएको हो । पाठेघरमा समस्या भएर शुकमायालाई मंगलबार साँझ ५ बजे मनमोहन अस्पतालमा भर्ना गरिएको थियो । उनको गएराति २ बजे शल्यक्रिया गरिएकोमा बुधबार दिउँसो १ बजे मृत्यु भएको हो ।
बिरामीको मृत्युपछि मृतकका आफन्तहरूले अस्पतालमा विवाद गरेका थिए । मृतकका आफन्त र प्रशासन पक्षबीच छलफल भएर विवाद मिलाएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । बिरामीको मृत्यु भएपछि उपचार खर्च अस्पतालले नलिने लगायतका सहमति भएको जनाइएको छ ।
हिजो मात्र बिर्तामोड–२ भगवान् चौकस्थित स्पाइन एक्स सुपर स्पेसलिटी हस्पिटल एन्ड ट्रमा सेन्टरको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तहरूले आन्दोलन गरेका थिए ।