बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर १ मा लामो समय वडासचिव रहेर सेवा गरेकी टिका अधिकारीलाई बिर्तामोड नगर अस्पतालमा प्रशासन प्रमुख रहने गरी सरुवा गरिएको छ ।
वडा कार्यालयको सचिवका रुपमा उत्कृष्ट जनसेवक रहेकी अधिकारीलाई मंगलबार वडा कार्यालयमा आयोजित विशेष कार्यक्रमका बीच सम्मानसहित विदाई गरियो ।
वडासचिवबाट नगरअस्पताल प्रशासन प्रमुखका रुपमा सरुवा भएकी अधिकारीलाई वडाअध्यक्ष अग्निप्रसाद पाण्डेसहित जनप्रतिनिधि तथा कर्मचारीको तर्फबाट प्रशंसापत्रसंगै मायाको चिनो प्रदान गरिएको थियो ।
अधिकारीको सरुवा भएपछि वडासचिवमा जानुका बस्नेतले जिम्मेवारी प्राएकी छन् । उनी एक महिना अघि अर्जुनधारा नगरपालिकाबाट सरुवा भएर बिर्तामोड आएकी हुन् । नयाँ जिम्मेवारी सम्हाल्न आएकी बस्नेतलाई पनि सोही कार्यक्रममा जनप्रतिनिधि तथा विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरुले फूलमालाले स्वागत गरे ।
यसैबीच वडाका कम्प्युटर अपरेटर डिना काफ्लेलाई वडा कार्यालयले वर्ष उत्कृष्ठ कर्मचारीका रुपमा नगदसहित सम्मान गरेको छ । उनलाई वडाअध्यक्ष अग्निप्रसाद पाण्डेले ५ हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरेका थिए ।