२०८१ पौष २६, शुक्रवार , ०७:३३:४० बजे

Sajhamanch
'

दुर्घटनामा घाइते मेचे उपचार अभावमा २ वर्षदेखि ओछ्यानमै, श्रीमतीले फैलाइन् सहयोगको हात

शनिवार, भदौ २२, २०८१

भद्रपुर । दैनिक ज्यालादारी गरेर परिवार धानिरहेका झापा हल्दिबारी ४ जलथल ऐनाबारीका २८ वर्षीय पुरनकुमार मेचे २ वर्षयता ओछ्यानमै छन् । २०७९ असार ६ गते कामबाट फर्कने क्रममा अविरल वर्षाले राम्ररी बाटो देख्न नसक्दा मोटरसाइकल दुर्घटनामा परी गम्भिर घाइते भएका मेचेले रकम अभावमा उपचार गर्न नसकेपछि शरीरको दाहिने पाटो नचलेर ओछ्यान परेका हुन् ।

झापाको दुवागढीमा ट्याक्टर चलाउँदै परिवार पालिरहेका मेचे साथीसहित मोटरसाइकलमा घरफर्कने क्रममा गम्भिर घाइने भएका थिए । दुवैजना दैनिक ज्यालादारीमा ट्याक्टरमा काम गर्ने मजदुर भएका कारण बिहानसँगै जाने र बेलुकासँगै फर्कने गर्थे । तर त्यस दिन निकै ठूलो वर्षा भइरहेका कारण बेलुका घर फर्कने क्रममा हल्दिबारी २ पाराखोपी बजार नजिकै मोटरसाइकल चिप्लिएर विद्युतको पोलमा ठोकिँदा भएको दुर्घटनामा पछाडि सवार मेचेको टाउकाको अगाडिपट्टि खप्पर उछिटिएर निस्केको थियो ।

साथी पनि विपन्न मजदुर आफू पनि विपन्न मजदुर भएका कारण उपचार गर्न गाउँ छिमेकसित हारगुहार गरेर करिब ६ लाख खर्चगर्दा ज्यान त बाच्यो तर शरीर चल्ने गरी पूर्ण उपचार भएन । मेचेका अनुसार खप्पर उछिटिँदा मेरूदण्डको मूल नशा सरेका कारण शरीरको दाहिने भागमा समस्या आएको हो ।

त्यहीबेला डक्टरले अरू ७ लाख जति खर्च गरेर टाउकोसित जोडिएको मेरूदण्डको मूल नशाको अप्रेशन गर्न सुझाव दिएका थिए । तर मेचेसित रकम नभएपछि घर फर्कनु परेको थियो ।

२ छोरासहित श्रीमतीको पालन पोषणको जिम्मेवारी बहन गरिरहेका मेचे २ वर्षयता आफैं थला परेर बसेका छन् । हल्दिबारी ४ जलथलमा मूल घर भएका मेचे परिवारको कच्ची झुप्रो र एक कठ्ठा जमीन मात्र छ । सगोलको त्यो जमीन पनि आमाको नाममा रहेको छ ।

पछिल्लो ३ महिनायता भद्रपुर ७ चन्द्रगढीमा बस्दै आएका मेचेको परिवार श्रीमती अरूणा राजवंशीले दैनिक ज्यालादारी गरेर धानिरहेकी छिन् । मासिक दुई हजार कोठा भाडा तिरेर चन्द्रगढीमा बसिरहेका मेचे परिवारलाई छाक टार्न र उपचार गर्न निकै समस्या छ । डाक्टरले अप्रेसन नगर्दासम्म दैनिक थेरापी गराउन सुझाव दिएको भए पनि रकम अभावले थेरापी पनि हुन सकेको छैन ।

श्रीमती अरूणाका अनुसार नशाको अप्रेसन गर्न करिव १० लाख जति खर्च हुने अस्पतालको भनाइ छ । बिहान बेलुका गाँस जुटाउन धौ धौ परिरहेको मेचे परिवारलाई १० लाख जुटाउन सहज पनि छैन । दैनिक थेरापी गराउन पनि हजार रूपैया तिर्नुपर्ने बाध्यता छ । त्यही पनि जुटाउन नसके पछि पूरै आछ्यान परेका पूरन मेचे वाकरको साहारामा शौचालय जाने प्रयाससम्म गर्छन् ।

कम्मरमुनीको दाहिने भाग अररो भएर नचल्ने भएका कारण शौच गर्न पनि समस्या रहेको पुरण बताउँछन् । कोठाबाट निस्कन वाकरको साहरा लिने गरेका उनले आर्थिक सहयोग जुटे नशाको अप्रेसन गरेर सामान्य जीवनमा फर्कने आशा राखेका छन् ।

सरकारी तथा गैर सरकारी सहयोग र मनकारी दाता नपाएका उनले उर्वर यौवनमा ओछ्यान पर्नुपर्दा निराश बनेको दुखेसो पोखेका छन् । कक्षा १० सम्म अध्ययन गरेका मेचे स्वास्थ्य समस्याबाट मुक्त हुन सके श्रम गरेरै देश र समाजको सेवा गर्ने बताउँछन् । आफैंले केही गर्छु भन्ने सोचले मजदुरी गरेर परिवारको विपन्नता हटाउन लागिरहेका उनी आफैं थलिएपछि परिवारमा विपन्नता अझ बढेर गएको छ ।

श्रीमती अरूणाले भेटेसम्म काम गरेर ल्याएको पैसाबाट दुई छोराको पढाई खर्च र घरभाडा, खाना त जुटाइरहेकी छिन् तर थलिएका श्रीमानको उपचार गर्न नसकेको पीडाले उनलाई सताइरहेको छ । मानवीय सहयोग जुटे पहिलेकै अवस्थामा श्रीमान आउने विश्वास राखेकी अरूणाले मनकारी दाताहरुसँग सहयोगको हात पनि फैलाएकी छन् ।

उनले सिटिजन्स बैंक हल्दिबारीको अरूणा राजवंशी मेचेको नाममा रहेको खाता नम्वर ०६३०१०००००७२२०४१ मा रकम दिन चाहने दातालाई जम्मा गर्न या ९८१४०१५९०२ मोवाइल नम्वरमा सम्पर्क गर्न सकिने समेत बताएकी छिन् । उनले दैनिक ज्याला मजदुरी गरेर लाखौं जुटाउन नसकेपछि श्रीमान ओछ्यान पर्न बाध्य भएको भन्दै नवजवान युवालाई बचाइ दिन आग्रहसमेत गरेकी छिन् ।

सम्बन्धित खबर