२०८१ भदौ ३१, सोमवार , १२:४३:०९ बजे

Sajhamanch
'

झापामा काफ्ले जनगणना गरिँदै

बिहिवार, भदौ २०, २०८१

झापा । बन्धु हित तथा उत्थानका लागि स्थापित काफ्ले समाज झापाले जिल्लाभर छरिएर बसोबास गर्ने काफ्ले परिवारको जनगणना गर्ने भएको छ ।

समाजको भाद्र १ गते सम्पन्न बैठकको निर्णयानुसार जनगणना तथा पारिवारिक विवरण संकलनका लागि फारम तथा घरधुरी सर्वेक्षण पहिचान गर्ने स्टिकर तयार भइसकेकोले अब जनगणना कार्य सुरु गर्न लागिएको आज प्रकाशित प्रेस विज्ञप्तिमा जनाइएको छ ।

काफ्ले समाज झापाका अध्यक्ष गोपाल काफ्लेले बिहीबार प्रेस विज्ञप्ति प्रकाशन गरेर ‘काफ्ले परिवारको लागि नितान्त नौलो अभ्यास तथा अन्य बन्धु समाजहरुका लागि पनि महत्वपूर्ण मानिएको जनगणना, पारिवारिक विवरण संकलन एवम् घरधुरी सर्वेक्षणबाट संकलन हुने तथ्याङ्कले निकै महत्व राख्ने विश्वास लिइएको’ उल्लेख छ ।

प्रेस विज्ञप्तिमा भनिएको छः ‘मुलतः एउटै थर, एउटै गोत्र रहेता पनि एकापसमा परिचय नहुँदा÷नगरिँदा अप्ठ्यारो सारो गाह्रोमा पनि बन्धु नै नभएको प्रतित हुने गरेको तीतो यथार्थ हामीले समय समयमा भोग्दै आएका छौं । यसको अन्त्य गर्न कम्तीमा पनि बन्धुहरुको बसोबास रहेकै ठाउँमा पुगेर पारिवारिक विवरण संकलन गर्नु आवश्यक ठानेका हौं । यस कार्यका लागि जिल्लाका सबै १५ वटै पालिकामा काफ्ले समाजको पालिका कार्यसमिति गठन गर्ने र सोही कार्यसमितिको अगुवाइमा पारिवारिक लगत संकलन गरिने तयारी भएको छ । सो प्रयोजनका लागि केन्द्रीय कार्यसमिति समेतको राय र परामर्शमा तथ्याङ्क संकलन फारम तयार गरिएको छ भने जिल्ला कार्यसमितिको अवधारणा बमोजिम काफ्ले जनगणना एवम् पारिवारिक विवरणसहित घरधुरी सर्वेक्षण कार्य सम्पन्न भएको संकेतसहित घर नम्बर राख्ने गरी स्टिकरसमेत तयार भएको छ । जिल्लाका १५ वटै पालिकाका स्थानीय कार्यसमिति र तोकिएका संयोजकहरुको समन्वयमा २०८१ कात्तिक मसान्तभित्र तथ्याङ्क संकलन फारम भरिसक्ने गरी समय पनि निर्धारण गरिएको व्यहोरा सार्वजनिकरुपमा सूचित गरिन्छ ।’

विगतमा गर्दै नगरिएको थर विशेष जनगणना कार्य झापामा काफ्ले थरबाट गर्न लागिएकोले यो विशेष अभियान रहेको पनि विज्ञप्तिमा दावी गरिएको छ ।

सम्बन्धित खबर