२०८१ पौष ६, शनिवार , ०१:०६:५८ बजे

Sajhamanch
'

लामो तीज : आलोचना, टिप्पणी र यथार्थ

बुधवार, भदौ १९, २०८१

प्रत्येक वर्ष भाद्र शुक्ल तृतियाका दिन मनाइने हरितालिका तीज ब्रत यस वर्ष पनि सम्पूर्ण नेपाली दिदी बहिनीहरुले हर्सोल्लासका साथ मनाइरहेका छन् । पौराणिक कथा वस्तु अनुसार भगवान शिवलाई पति पाउँ भनी पार्वतीले कठोर ब्रतबसी आफ्नो मनोकांक्षा पूरा गरेको दिनसँग यो पर्व सम्बन्धित छ ।
आजको दिनमा तीज भड्किलो बन्दै गएको, तीजको नाममा महिनौ अगाडिदेखि दर खाने प्रवृत्ति बढ्दै गइरहेको,सामाजिक संजालमा देखाइएका देखावटीपनले तीज पर्वको महत्वलाई बुझेर मनाउने भन्दा पनि रमाइलो गर्ने माध्यम बनेको, घरमा मनाइनु पर्ने तीज परिस्कृत हुँदै जाँदा पाटी प्यालेससम्म पुगेको र तीजको वास्तविक अर्थ र मर्मलाई नबुझी तीज पर्व मनाइएको आम मानिसको भनाई रहेको छ ।
यसै सन्दर्भमा परम्परागत र आधुनिक (परिस्कृत) तीजलाई कसरी लिनु हुन्छ भनेर झापाका विभिन्न क्षेत्रका महिलाहरुको धारणा प्रस्तुत गरिएको छ ।

गीता रेग्मी : जनप्रतिनिधि
बिर्तामोड वडा नं. ६ (महिला वडा सदस्य)

पहिले पहिले नेपाली समाजमा छोरीहरुलाई सानै उमेरमा विवाह गरेर पराई घर पठाउने चलन थियो । असार साउनमा धान रोप्ने, कोदो रोप्ने, दाल छर्ने जस्ता काम गरेर गलेकी छोरी चेलीलाई भदौमा पर्ने तीज पर्वमा माइत ल्याएर केही दिन आराम दिने, मिठो मसिनो खुवाउने गरिन्थ्यो । माइत टाढा भएका महिलाहरु वा घर ब्यवहारले जान नपाएका छोरीचेलीहरु तीजलाई आधार बनाएर गीतका माध्यमबाट दुःख पोख्ने चलन थियो ।
तर अहिले त्यो समय रहेन । समय परिवर्तन भयो । महिलाहरु शिक्षित हुँदै गए । सबैका हातहातमा मोवाइल छन् । आजको दिनमा महिलाहरु स्वतन्त्रता चाहन्छन् । तीजको माहोल पनि यसरी नै मनाउने गरिएको छ । तर स्वतन्त्रताको नाममा जथाभावी गर्नु गलत हो । तीज मनाउने नाममा केही महिलाहरुले तडकभडक गरेको पनि देखिन्छ । तर, सबैलाई एउटै डालोमा राखेर दोष दिन मिल्दैन ।
समय मिलाएर केही दिन पहिलेदेखि नै तीजको नाममा भोज गर्नु नराम्रो त होइन तर संस्कृतिका नाममा भित्रिएको विकृतिप्रति चाहिँ सबैले सचेत हुन जरुरी देख्छु म ।

……………………………………………………………………………………………………………………….

मिरा काफ्ले पोखरेल,
शिक्षक तथा साहित्यकार, मेचीनगर ९

 हामी सानो छँदा दर एक दिनमात्र खाइन्थ्यो । तर आज परिस्कृत हुँदै गएर महिना सदनजस्तै बनेको छ । तीज पर्व र दर खाने कर्म आफैंमा नेपाली मौलिक संस्कृति र परम्परासँग जोडिएका हुन् ।
यसलाई कतिपय हुने खानेहरुले तारे होटल पुर्याएर विकृत बनाउँदै छन् । महंगा लुगा र गरगहना लगाएर तारे होटलको खानासँग मदिराुमेत सेवन गरी सँस्कृतिको धज्जी उडाउँदै भड्किलो बनाउँदै गएको पनि देखिन्छ । यस्ता कार्यले नेपाली मौलिक चाडपर्वप्रति वितृष्णा आउनु स्वभाविक भएको छ । यसलाई नियन्त्रण गर्न यस्तो हर्कत गर्नेहरुलाई नै सचेत गराउनु पर्ने आजको दायित्व पनि हो ।
संस्कृतिको जगेर्ना गर्नु हामी सबैको कर्तव्य हो । हुने खानेले मात्र होइन, यो पर्व सबैले मनाउँदै गर्दा ती हुँदा खानेहरुलाई पनि समेटेर समानरुपमा मनाउन पाएमा मात्र पर्वको ओज बढ्छ र परम्परालाई पनि यथावत कायम राख्न सकिन्छ । चाडपर्व हाम्रा नीधि हुन्, सम्पति हुन् । यिनीहरुको मौलिकताको रक्षा हामीले गर्नुपर्छ र आउने पुस्तालाई हस्तान्तरण गर्नेपर्छ । जस्ताको त्यस्तै नभए पनि परिमार्जित गरेर पुस्तान्तरण गर्नुपर्छ ।

 

……………………………………………………………………………………………………………………….

गोमा भटट्राई
जनसम्पर्क उपाध्यक्षः बिर्तामोड उद्योग वाणिज्य संघ

इतिहासलाई फर्केर हेर्ने हो भने महिलाले घरभित्र चुलोचौकोमा मात्र सिमित हुनुपर्ने स्थिति थियो । शिक्षा पाउँदैन थिए । स्वतन्त्र भएर बाहिर हिंड्न पाउँदैन थिए । जब शिक्षाको स्तर बढ्दै गयो अनिमात्र दिदी बहिनीहरुलाई बाहिरी संसारमा निस्कन सहज भयो । नेपालमा प्रजातन्त्र बहाली पछि बनेको संविधानले महिलाको हक अधिकार सुनिश्चित भयो । जसले गर्दा महिलालाई बाहिर निस्कन अझै सहज भयो ।
नेपालमा अहिले ५२ हजारभन्दा बढी महिलाका संगठनहरु सक्रिय भएर लागेका छन् । अहिले समाजमा पुरुषका संगठनभन्दा पनि महिलाका संगठनमा आत्मीयता, सामुहिकता देखिएको महसुस गर्न सकिन्छ । एउटा महिला धेरैवटा संगठनमा आवद्ध हुन्छन् । नेतृत्व गर्ने पनि महिला नै हुन्छन् ।
सन्दर्भ एक दिन खाइने दरको नाममा महिनौ भोजमा बिताउनुलाई के भन्ने सम्बन्धमा मेरो आफ्नै धारणा छ । परम्परागत तीजमा महिलाले माइतीमा गएर दुख पोख्थे, बाँढ्थे । आजको दिनमा नयाँ कुराको थलानी गर्ने, सामुहिकताका कुरा र हर्षोल्लासका रुपमा मनाइन्छ । समाजको यो परिर्वतन हो । यसलाई स्वीकार्नै पर्छ । तर भड्किलो हुनुहुँदैन । सबै आफ्नो ठाउँबाट सचेत रहनुपर्छ । सामाजिक सञ्जालका कारणले हुनसक्छ अलि बढी भड्किलो देखिएको तर यसलाई सामुहिकताका रुपमा सकरात्मक ढंगले लिनुपर्दछ ।

……………………………………………………………………………………………………………………….

हिमा खनाल
विर्तामोड नगरपालिका वडा नं. २ सचिव

पछिल्लो समय तीज स्वतन्त्रताको नाममा अलि भड्किलो भएको हो कि जस्तो लाग्छ । तर पनि दिदीबहीनी यसै खुसी हुनुहुन्छ भने त्यो उहाँहरुको कुरा हो । यसलाई नराम्रो भन्न चाहिँ मिल्दैन । गाउँघरतिर कम छ शहर बजारतिर बढी देख्न सकिन्छ । एक महिना अगाडिदेखि भन्दा एक–दुई दिनमात्रै मनाए हुन्थ्यो जस्तो लाग्छ ।
आफू पेसाले जागिरे । विदा मिल्दैन । धेरै संस्थाहरुबाट निम्तो आउँछ तर जान सकिँदैन । त्यसैले हुनसक्छ परम्परागत शैलीमा एकदिन मात्र तीज मनाउँजस्तो लाग्छ । सानो छँदा राति १२ बजेपछि आमाले निन्द्रामै दूध र घिउबाट बनेको ढकने र आलुको सब्जी बनाएर खुवाउनु हुन्थ्यो । दर भनेको त्यो जस्तो मात्रै लाग्छ । धेरै परिकार हुँदैन थियो । तर त्योभन्दा मिठो अरु केही हुँदैन थियो । त्यसरी तीज नमनाएको वर्षौ भइसक्यो । आजको तीज र दर खाने कुरा त मनोरञ्जनको लागि मात्रै हो, सांस्कृति र परम्परा जोगाउने खालको चाहिँ छैन ।

……………………………………………………………………………………………………………………….

शोभिता पराजुली प्रसाई
गृहिणी, विर्तामोड ९

हामी सबैले तीजको वास्तविक अर्थ बुझाउँन आवश्यक छ । हजुरआमाको पालामा चेलीलाई माइतीले लिनगई मिठो मसिनो खुवाउने र दुःख साट्ने चलन थियो । आजको दिनमा तीजको वास्तविक अर्थ नै फेरिन थाल्यो कि जस्तो आभाष हुन्छ ।
पहिला चेलीलाई मात्रै माइत बोलाउने र दर खुवाउने चलन थियो । अहिले संघ–संस्था, साथी छिमेकी, भाउजू सानीआमा, सम्धिनी सबैलाई बोलाउने र आफू पनि जाने चलन आयो । गहरगहना प्रर्दशन गर्ने चलन चाहिँ पछिल्ला केही वर्षयता कम भएको हो कि जस्तो लाग्छ ।
सबैभन्दा धेरै त तीजको नाममा निकालिने गीत र म्युजिक भिडियोमा विकृति आएको छ । यसमा सम्बन्धित निकायले ध्यान दिनुपर्छ । अरुलाई देखाउने बहानामा अनावश्यक ऋण बोक्ने गरेको पनि सुनिन्छ । यसले त समाजलाई नै असर पुर्याएको छ नि । तीज मनाउने चलन समय अनुसार परिर्वतन पनि हुँदै आयो । परिर्वतन हुनु पनि पर्छ । तर, परिवर्तनको नाममा पर्वको स्वरुप चाहिँ बिग्रन दिनु हुँदैन ।

……………………………………………………………………………………………………………………….

यशोदा उप्रेती
लायन्स क्लव स्मार्ड लेडी फस्ट भिपी

विवाह गरेर गएका छोरीचेलीलाई लिन माइती घरबाट दाजुभाई जानुहुन्थ्यो । सबै ठाउँमा सार्वजनिक सवारी साधन थिएनन्, धेरैजनाले हिंडेरै आवतजावत गर्नुपथ्र्यो । वर्षमा एकपटक माइती घर जान पाउँदा चेलीहरुमा खुसीको सीमा हुँदैनथ्यो । बाल्यवस्थामा नै माइती र साथीसंगीबाट टाढिएका चेलीहरु माइती घर जान पाउँदा दंग नपर्ने कुरै हुँदैन थियोे । आमा र माइतीघरमा परिवारसँग बसेर मट्टीतेलबाट बल्ने बत्ती बालेर, मादल भए मादल नभए धान भर्ने खाली टिन बजाएरै भए पनि नाचगान गरी रातको १२ बजेपछि दर खाएर मनाइन्थ्यो । त्यो बेला संस्कृतिमा सत्यता थियो । भड्किलो र खर्चिलो थिएन ।
आजको दिनमा तीज परिमार्जित भएको छ । समाज फराकिलो भएसँगै हामी महिलाहरु पनि शिक्षित भएका छौं । आत्मनिर्भर छौं । घरभित्र मात्र सिमित नभई बाहिरी संसारलाई पनि केही हदसम्म निहालेका छौं । प्रविधिको विकास, शिक्षा र सवारी साधनले आजको तीजलाई फराकिलो बनाएको छ । पहिलाको भन्दा खर्चिलो पनि भएको छ ।
धेरै संस्थाहरुमा महिलाको पहुँच छ । महिलाहरु पनि सामाजिक क्षेत्रमा सक्रिय भएका छन् । घरमा मात्र नभएर तीज संघ संस्था मार्फत मनाइएको छ । मनाउनु पनि पर्छ । संस्था भनेको पनि त घरै त हो । आफूले संस्थालाई जीवन दिइएको हुन्छ । अनि संस्थाले पनि त सम्झिनु पर्छ । सामान्य तरिकाले, माया, सद्भाव साटासाट, भेटघाट गर्नुपर्छ । ठूला शहर र विदेशतिर रहेका कतिपय नेपालीले अलिबढी खर्च गरेर स्टार होटेलमा भड्किलो भोज गरेको देखिन्छ । गीत संगीतमा पनि अभद्रपन देखिन्छ । यो गलत हो । यसलाई सबैले बुझ्नु पर्छ । यस्ता कारणले समाजमा नराम्रो छाप पारेको छ । जसले आज तीजको मर्म बुझनु भएको हुँदैन उहाँहरुले बिस्तारै समयसँगै बुझ्दै जानुहुनेछ । तीज हाम्रो संस्कृति हो । सभ्य र सुसंस्कृत भएर मनाउँ ।

……………………………………………………………………………………………………………………….

भिमा शिवाकोटी
महिला उद्यमी तथा सञ्चारकर्मी

हिजोको समय र आजको समयमा केही न केही परिर्वतन भएकै छ । हिजो एउटा परिवारभित्र सिमित रहेको यो पर्व अहिले आएर सामाजिक संघ संस्थाले सामुहिक रुपमा मनाउने प्रचलन बढेको छ । यसलाई म राम्रै मान्दछु । महिलालाई सम्मान गर्ने पर्वका रुपमा पनि लिन्छु ।
हिजो साधन स्रोत केही नभएको अवस्थामा सात डाँडापारी छोरी विवाह गरेर दिएको हुन्थ्यो । माइती लिन जान्थे । त्यो बेला खान मिठो थिइएन । लगाउन राम्रो थिइएन । मनका कुराहरु महिलाले बोल्न पाउँदैन थिए । समाजमा आज त महिलालाई हेर्ने दृष्टिकोण फरक छ भने त्यो बेला त झन् कस्तो थियो होला । मनको कुरा खुलेर भन्न सक्नुहुन्न थियो । त्यो बेला गीतका भाकामा पोख्नु हुन्थ्यो । अहिले पनि समाजमा लैङ्गिक विभेद छ । त्यो विभेदलाई महिलाहरुले सामुहिक रुपमा अन्त्य हुनुपर्छ र महिला र पुरुष समान हौं भन्ने गरिको परिस्थतिको सिर्जना गर्नुपर्छ भनेर सामुहिक रुपमा तीज मनाउने प्रचलन बढेको हो । हिजो अलि साँघुरो घेराभित्र थियो आज अलि फराकिलो भएको छ ।
अहिले महिलाहरुले मनाउने तीजको विषयमा धेरै टिप्पणी पनि हुने गरेको छ । विकृति नै छैन भन्न सकिँदैन । शिक्षित महिलाहरुले नै वाइनका बोतल लिएर पिइरहेको फोटोहरु सामाजिक सञ्जालमा सार्वजनिक गरेको देखिन्छ । विद्वत व्यक्तिहरुले नै पर्वको खिल्ली उडाइरहेको देखिन्छ । उहाँहरुलाई त्यस्ता तस्विरलाई विश्लेषण गरेर मात्रै सञ्जालमा राख्न अनुरोध पनि गर्दछु । केही दिदी बहिनीहरुले गर्दा आधा आकाश ढाँक्ने महिलाहरुको अपमान हुनसक्ने अवस्था नहोस् ।
आज महिलाहरु सशक्त बनेका छन् । शिक्षित बनेका छन् । राज्यका हरेक निकायमा महिलाहरुको सहभागिता रहेको छ । यो महिलाहरुको ठूलो आन्दोलन पछिको उपलब्धी हो । यो उपलब्धी संस्थागत गरेर लैजानु पर्छ भन्ने चेतना जागेका कारण पनि अहिले सामुहिक रुपमा दर खाने नाचगान गरेर तीज मनाउने चलन बढेको छ । यसले महिलाको नेतृत्व विकास गरेको छ । क्षमता अभिवृद्धि गरेको छ । महिलाहरुले स्वनिर्णय गर्ने सक्ने क्षमताको विकास गर्दै एउटा स्वतन्त्र समाजको म स्वतन्त्र मान्छे हुँ भन्ने गरिको परिस्थिति सिर्जना भएको छ ।
महिलाहरु त्यो ढंगबाट अगाडि बढिरहनु भएको कुरालाई अत्यन्तै सकरात्मक लिनुपर्छ । आज महिलाहरु संगठित हुनुभएको छ । महिलाहरुले आफ्नो कर्तव्य, दायित्व, अधिकार बुझ्नु भएको छ । महिलाहरु शिक्षित हुनुभएको र हरेक क्षेत्रमा अगाडि बढेको अवस्था छ । यसलाई सकरात्मक रुपमा लिनुपर्छ । जहाँसम्म तीज मनाउने चलन, दरखाने चलनको प्रसङ्ग छ, हिजो र आजको तीज त्यही नै हो मात्रै मनाउने चलन फरक भएको हो भन्ने मेरो बुझाई छ ।
दशैं तिहारमा पनि एक महिना अगाडिबाटै शुभकामना आदानप्रदान हुन्छ भने तीज पनि त महिलाको महान पर्व हो नि । यसलाई पनि शुभकामना आदानप्रदानको रुपमा लिन सकिन्छ । यसलाई पोजेटिभ ढंगबाट लिनुपर्छ । तीज पर्व महिलाहरुको शसक्तिकरणमा कोसेढुंगा सावित भएको छ ।

सम्बन्धित खबर