दमक । झापाको दमक १ स्थित खानेपानी ट्याङ्की टोल उत्तरको प्लटिङ एरियामा गएराति गौहत्या भएको छ ।
सो टोलका गङ्गाराम कोइरालाको गोठबाट एउटा माउ गाई चोरी गरेर करिब २०० मिटर परको प्लटिङको खाली जमिनमा बन्चराले हानेर हत्या गरिएको स्थानीयले बताएका छन् ।
गौहत्या पछि स्थानीय बासिन्दाले घटनाको तथ्यसत्य पत्ता लगाएर दोषीलाई कडाभन्दा कडा कानुनी कार्वाही गर्न प्रहरीलाई दबाव दिएका छन् ।
घटनास्थलमा प्रहरी र जनप्रतिनिधिसहित स्थानीयहरु बिहानैदेखि ठूलो संख्यामा भेला भएका छन् ।
प्रारम्भिक अनुसन्धानमा गाईको हत्या गरी खुन, घाँटी र गर्धनको मासु काटेर लगेको अवस्थामा गाई फेला परेको हुँदा घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।