२०८१ पौष २७, शनिवार , ०२:०६:२१ बजे

Sajhamanch
'

काँकरभिट्टा नाकाबाट साउनमा १ अर्ब ८१ करोडको सामान निर्यात

मङ्गलवार, भदौ १८, २०८१

झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनमा रु. १ अर्ब ८० करोड ८२ लाख ९९ हजार बराबरको माल वस्तु निर्यात गरेको छ ।

जुन गत आव २०८०­/८१ को सोही अवधिको तुलनामा ३३.९८ प्रतिशत अर्थात् रु. ९३ करोड ७ लाख ३५ हजारले घटेको हो । कार्यालयका सूचना अधिकारी गणपति कँडेलका अनुसार गत आवको साउन महिनामा रु. २ अर्ब ७३ करोड ९० लाख ३४ हजार बराबरको माल वस्तु निर्यात भएको थियो ।

यहाँबाट चिया, प्लाइउड, फलाम तथा फलामका सामग्री, अलैँची, अदुवा, अम्रिसो, भेनियर सीट, छुर्पी, मोलासिस, काउली, बन्दागोभी, ब्रोकाउली लगायतका माल वस्तु निर्यात हुने गरेका छन् ।

प्राप्त विवरणअनुसार गत साउनमा रु. ५१ करोड २२ लाख ७८ हजारको चिया निर्यात हुँदा रु. ३७ करोड ११ लाख १३ हजार बराबरको प्लाइउड निर्यात भएको छ, जुन गत आव २०८०/८१ को तुलनामा क्रमशः ३८.०८ र ४३.४९ प्रतिशतले बढी हो ।

यसैगरी गत साउनमा रु. १६ करोड १२ लाख ५२ हजार बराबरको अलैँची र रु. ३४ करोड ९२ लाख ५९ हजार बराबरका फलाम तथा फलामका सामग्री निर्यात भएको भन्सार कार्यालयले जनाएको छ ।

गत आवको साउन महिनाको तुलनामा यो ८३.२८ प्रतिशत र २९.७६ प्रतिशतले घटेको हो । यस्तै, भेनियर सिटको निर्यात सबैभन्दा धेरै ५०३. ९७ प्रतिशतले बढ्दा छुर्पी, अदुवा, अम्रिसो, काउली, बन्दागोपी, ब्रोकाउलीलगायतका वस्तुको निर्यात घटेको मेची भन्सार कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर