इलाम । नेपाल पत्रकार महासंघ झापा शाखाका कार्यसमिति सदस्य तथा नयाँ पत्रिकाका झापा सम्वाददाता चिरञ्जीवी घिमिरे ‘नवराज शंकर स्मृति युवा प्रतिभा सम्मान २०८१’बाट सम्मानित भएका छन्।
प्रतिष्ठानले आइतबार इलाम सदरमुकाममा आयोजना गरेको कार्यक्रममा घिमिरेलाई नगद पाँच हजारसहित सम्मान गरेको हो। राष्ट्रिय सभाका पूर्वसदस्य खेम नेपाली, जिल्ला समन्वय समिति इलाम प्रमुख जयप्रकाश राईलगायतले घिमिरेलाई दोसल्ला ओढाएर चेक र सम्मानपत्र प्रदान गरी सम्मान गरेका हुन् ।
एक दशकदेखि पत्रकारितामा क्रियाशील घिमिरेलाई सीमान्तकृत वर्ग समुदायको पक्षमा कलम चलाएकोमा पुरस्कृत गरिएको सम्मानपत्रमा उल्लेख छ । राजनीति र सामाजिक क्षेत्रमा क्रियाशील शंकरको ३७औँ जन्मजयन्तीको अवसरमा नवराज शंकर प्रतिष्ठानले हरेक वर्ष एकजना युवालाई सम्मान गर्दै आएको छ।
राजनीतिक तथा दर्जनौँ सामाजिक क्षेत्रमा क्रियाशील रहेका शंकरको कोरोनाका कारण २०७८ जेठ २ गते निधन भएको थियो। उनकै स्मृतिमा प्रतिष्ठान स्थापना गरिएको हो।
यसैबीच, शंकरको जीवनीमा आधारित डकुमेन्ट्री फिल्म ‘चम्किरहेको तारा ‘नवराज शंकर’ प्रदर्शन गरिएको छ। प्रतिष्ठानले निर्माण गरेको डकुमेन्ट्रीमा शंकरले पत्रकारिता, राजनीतिक, सामाजिक, खेलकुद लगायत क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरिएको छ।