महोदय,
तपाईंहरु अभियानमा हुनुहुन्छ । बेलाबखत जम्काभेट हुन्छ । तपाईंहरुका बारेमा अनेक किस्साहरु बनेका छन् । सुनाउँछन्, सुन्छु । अभियान भनेको निरन्तर चलिरहने प्रकृया हो । आन्दोलन हो, यो टुङ्गिदैन । सायद तपाईंहरु यस्तै आन्दोलनमा हुनुहुन्छ । यस्तो अभियानले सबैभन्दा पहिला तपाईं अभियानमा लाग्नेहरुलाई नै अधोगतिको यात्रामा लाने छ । पहिला पहिला आन्दोलनमा र पछिपछि बर्बादीमा । हो, तपाईंहरु यही बर्बादीको बाटोमा हिँडिरहनु भएको छ ।
तपाईं अभियानका मानिसहरु देख्दा सर्लक्कै आधुनिक मानिस जस्तै देखिनु हुन्छ । मानव बस्ती मै बस्नु हुन्छ । तपाईंको परिवार छ । पेशा पनि छ । व्यवहार गर्नुहुन्छ । व्यवहार गर्न पैसा चाहिन्छ । पैसाको लेनदेन पनि गरेको देखिन्छ । सभा, सम्मेलन, बैठक, छलफल बाक्लै गर्नुहुन्छ । खानुहुन्छ, पिउनु हुन्छ, लाउनु हुन्छ, बोल्नु हुन्छ । यहाँसम्म दुरुस्त सद्दे मानिस जस्तो लाग्छ ।
अभियानमा लागेका मानिसको पहिलो समस्या भनेको वित्तीय साक्षारता र वित्तीय अनुशासनको शून्यता हो । यो समस्या तपाईंहरु सुन्न, बुझ्न र सिक्न चाहनु हुन्न । त्यसैले तपाईंहरुले गरेका सबै व्यवसाय, उद्यम, काम, कारोबार घाटामा गए । घाटा पूरा गर्न ढाँट्न थाल्नुभयो । चिनेका, जानेका सबैलाई ढाँट्नुभयो । अलिअलि पुर्खाले जोगाई दिएको र आफैंले आर्जेको सम्पत्ति तथा इमान धितोमा राखेर जति सकिन्छ पैसा लिनुभयो ।
पैसाले उद्यम गर्नुभएन, गरेको पनि सफल भएन किनकि तपाईंमा न वित्तीय ज्ञान थियो न वित्तीय साक्षारता नै । तपाईंहरु हातमा पैसा परेपछि त्यो पैसा अर्काको हो, सापटी ल्याएको हो, आफ्नै सम्पत्ति र मान सम्मान धितोमा राखेर ल्याएको हो । त्यो उद्यम गरेर बढाउन ल्याएको हो । तिर्नु पर्छ, बुझाउनु पर्छ भन्ने बिर्सेर गोजीमा पैसा छउञ्जेल फुर्तिलो, रवाफिलो पाराले खर्चिनु भयो । मेहनत गर्ने त न जाँगर थियो न सीप । पैसा सकियो । फेरि अर्कोलाई छल्ने र पैसा उम्काउने उपायमा लाग्नु भयो । यसको पनि हद हुन्छ । त्यो हद भएपछि र सिमामा पुगेपछि गति छाड्न तयार हुनुभयो, गति छाड्नु भयो । गति छाड्न पनि एजेण्डा चाहिँदो रहेछ ।
कुनै गति छाडाले एजेण्डा बाँड्यो, त्यही गतिछाडाको एजेण्डा बोकेर गतिछाडा गतिछाडा एक हौं भनेर नारा लगाउनु भयो । गतिछाडाहरुको सङ्गठन बन्यो, बनाउनु भयो । सुतुरमुर्गले बालुवामा टाउको लुकाएजस्तो भुईंमा टाउको गाडेर मलाई कसैले देख्दैन, देखिहालेछ भने छुन सक्दैन, छोइहालेछ भने म त्यसलाई गतिछाडाहरुको पावर देखाई दिन्छु भनेर डुुक्रिने गर्नुभएको छ ।
तपाईंको उन्नतिका लागि भनेर जसले तपाईंलाई सहयोग गर्यो, उसैलाई धम्क्याउन शुरु गर्नुभयो । तपाईंलाई अप्ठ्यारो परेको बेला तपाईंले आफ्नो समस्या दर्शाउँदा जसले आर्थिक सापटी दियो । तपाईंले भाकामा पैसा फिर्ता गर्छु भनेर बचन दिनुभयो । कागजमा ल्याप्चे लगाउनु भयो । छोराछोरीको भविष्यका लागि भनेर आफ्नो इमान धरौटीमा राख्नुभयो । आज ती सबै बाचाहरु बिर्सेकोजस्तो गरेर लाज पचाएर उल्टै धम्कीको भाषा बोल्न थाल्नुभयो ।
अझ सहकारीमा भएको पैसा त तपाईंका असल छिमेकिले खाइनखाई दुखः गरेर छोराछोरीको भविष्यका लागि भनेर साँचेको पैसा हो । त्यो पैसा तपाईंले सापटी र कर्जामा लिएर जानु भएको हो । आज गजबको भाषा बोल्न थाल्नु भएको छ । पैसा नतिर्ने रे, तिर्नु पर्दैन रे ! के त्यसो भए तपाईंका छिमेकी आफन्तले राखेको अर्थात बचत गरेको पैसा फिर्ता गर्नु पर्दैन ? त्यसै हो भने एक दिन ती सबै बचतकर्तालाई जम्मा गरेर तपाईंको घर घेर्न आउनु पर्ने हुन्छ नै । त्यसदिन तपाइंको जाने ठाउँ कुन होला ? कता होला ?
सभ्य समाजमा लेनदेन हुन्छ । एैंचोपैंचो हुन्छ । भर अभर देखिन्छ । सक्दै नसक्ने कोही भए उपाय निकालिन्छ तर गोजीमा हुइञ्जेल फुटानी खर्च गर्नेलाई समाजले पनि छाड्दैन र संस्थाले पनि छाड्दैन । किनकि समाजलाई अराजकतामा जान दिनु हुँदैन । समाजलाई जङ्गली युगमा फर्कन रोक्नु पर्छ । समाजलाई पशुवत व्यवहारमा जानबाट रोक्नु पर्छ । पशुले हो लिएको फिर्ता नगर्ने । त्यो व्यवहार सभ्य समाजलाई मान्य हुँदैन ।
यो गतिछाडाहरुको सङ्ठनमा मान्छे जस्तै देखिएर डुक्रिनुको बेफाइदा समयले सबैभन्दा धेरै तिनै गतिछाडाहरुलाई भएको कुरा समयले पुष्टि गर्दै जानेछ, जाँदैछ ।
अब यी गतिछाडाहरुले यो जुनीमा कुनै बैंक, वित्तीय संस्था, सहकारी, साहुमहाजन, छिमेकी कसैले चार पैसा पत्याउने छैनन् । त्यतिमात्रै होइन तिनलाई छिमेकीको पसलेले बाँकी दिने छैन । तिनको र तिनका शाखा सन्तानको रेकर्ड कसैले कम्युटरमा, कसैले हिसाब खातामा र कसैले मनमनमा राखेका छन् । मानिस समाजमा बस्नका लागि समाजमा बिक्नु पनि पर्छ । ती गतिछाडाहरु सभ्य समाजमा बिक्न छाडेका छन् । समाजमा बिक्नु भनेको आर्थिक कारोबार मात्रै होइन जन्ती, मलामी र सामाजिक कार्यमा मानिसले पत्याउने हुनु पनि हो । अब गतिछाडाहरुलाई समाजले पत्याउँदैन । यसका लागि कुनै शङ्खघोष गर्न जरुरी छैन ।
हिजो सामाजिक ठानिएको मानिस अब असामाजिक र गतिछाडा भएको छ भनेर मानिसले मनमनमा हिसाब राखेर बसेका छन् । नाता, कुलकुटुम्ब, छिमेकीहरु केही दिन तिनका गतिछाडापनलाई पचाएर बोलिदेलान । मन मिचेरै भएपनि भरअभरमा आइजाई गरिदेलान् । तर एक दिन तिनीहरुले पनि छाड्ने छन् । किनकि सामाजिक प्राणी समाजमा नै बस्न रुचाउँछ । असामाजिक र गतिछाडाहरुको जमातमा नजिकिएको देख्दा त सभ्य समाजका पात्रहरुको बहिस्करणमा पर्ने खतरा हुन्छ ।
गतिछाडाहरुको पनि एउटा समाज हुन्छ, तिनका पनि नेता हुन्छन् । नेता जोगाउन, नेता बन्न, समाज र सङ्गठन जोगाउन, चलाउन गतिछाडाहरुलाई पैसा चाहिन्छ, पैसा उठाउँछन् । जीवन चलाउन, परिवार चलाउन पैसा चाहिन्छ । पैसाका श्रोत कमजोर बन्दै जानेछन् । जो यस्ता गतिछाडा अभियान वा आन्दोलनमा लाग्छन्, तिनीहरु झन्झन् कमजोर हुँदै जानेछन् । यस्ता गतिछाडाको पछि लाग्नेहरु एउटा ठूलो भ्रममा छन् । उनीहरुले भ्रमको व्यपार गरेका छन् । यो व्यपारको वास्तविकता बिस्तारै छर्लङ्ग हुँदै जानेछ । भ्रम हट्दै जानेछ । भ्रम हटेपछि मानिसले गतिछाडा सङ्गठन छाड्ने छन् । त्यो बेलासम्म यस्तो भ्रमका पछि लागेकाहरुको अवस्था निकै कमजोर भएको हुनेछ । छोराछोरीले पनि साथ छाड्ने दिन आउँछ । किनकि यस्ताका कुबुद्धिको शिकार परिवारका सदस्य बन्न पुग्ने छन् । उनीहरुको पनि सामाजिक छबि धमिलिने छ । आर्थिक हैसियत थप खस्किने छ ।
बैंक, वित्तीय संस्था र सहकारीबाट लिएको पैसा तिर्नु पर्दैन भनेर अभियान चलाउनेहरुले अन्यत्र कतै आर्थिक कारोबार गरेका छन् कि छैनन् होला ? तिनका आफन्तले कारोबार गरेका छन् कि छैनन् होला ? तिनका परिवार र आफन्तको कुनै सहकारी वा बैंक वित्तीय संस्थामा बचत वा निक्षेप खाता होला कि नहोला ? त्यो पैसा तिनलाई फिर्ता गर्नुपर्छ कि पर्दैन होला ? धिपधिप गर्दै गरेको भएपनि तिनको पनि पेसा व्यवसाय पक्कै होला कि ! तिनका व्यवसायबाट कसैले उधारो लिएको रहेछ भने तिर्नुपर्छ कि पर्दैन होला ? ती अभियानका अघिपछि कुद्ने मानिसले कतै श्रम गरे वा सेवा दिए भने त्यसको पैसा दिनुपर्छ कि पर्दैन होला ?
कुनै सिटी रिक्सा, अटो वा बसमा चढे भने तिनले भाडा तिर्छन् भन्ने छैन भने किन तिनलाई सेवा दिने होला ? कुनै पसलमा बसेर खाजा खाना खानथाले भने पैसा दिन्छन् भन्ने हुँदैन । किनकि यस्तो सेवा लिएको त के नगदै लिएको पैसा त फिर्ता गर्नु पर्दैन भन्छन् भने त्यस्ताले पैसा तिर्छन् भन्ने के छ र ? त्यसैले यस्ता गतिछाडाको समूह वा जमातबाट जोगिनु पर्छ । कुनै कारोबार र व्यवहार गर्नु हुँदैन । जोसँग व्यवहार गर्न सकिँदैन, विश्वासको अङ्श बाँकी छैन त्यस्तासँग संवाद र सामाजिक व्यवहारको खासै आवश्यक नै पर्दैन । अझ जोगिएर टाडै बसेको राम्रो ।
सभ्य समाज भनेको विस्वासको समाज हो । लेनदेनको समाज हो । एकताको समाज हो । हो, मानिसमा समस्या आइलाग्यो भने समाजले केही नियम बनाएको छ । राज्यले कानून बनाएको छ । समस्या परेको मानिसले कारोबार गरेको ठाउँमा गएर आफ्नो समस्या राख्नु पर्छ । समस्या परेछ भनेर थप चेप्ने र अप्ठ्यारो पार्ने होइन, समस्या समाधानको उपाय दुवैपक्ष बसेर खोज्नु पर्छ । समय थप गर्न सकिन्छ । ब्याज हर्जना भएकोमा छुट गर्न सकिन्छ । किनकि कारोबार गर्ने मानिसको उन्नतिमा नै वित्तीय संस्था र सहकारीको पनि उन्नति हुन्छ । समाजको उन्नति हुन्छ ।
व्यवसायमा समस्या आएको हो भने समाधानका उपाय छलफलबाट निकाल्न सकिन्छ । तर ऋण पायो भनेर जतिपनि, जताबाट पनि लिने । यस्तो ऋणबाट आम्दानीको बाटो नखोज्ने र साँवा नै खर्च गर्ने प्रवृत्तिले अन्ततोगत्वा मानिसलाई गतिछाडा बनाएर सिध्याउँछ नै । यस्तो अराजक र गतिछाडा जमातको डटेर सामना गर्दै समाजलाई अराजक बन्नबाट रोक्नु पर्छ । सभ्य समाजको निर्माणमा निरन्तर जुट्नु पर्छ । व्यक्तिको सम्मान र उन्नति इमानमा हुन्छ । आफ्नै बचनको अवज्ञा गर्ने, अरुलाई धम्क्याउने, ढाँट्ने, अरुको धनमा जीविका चलाउन खोज्नु गतिछाडा पन हो । अधोगतिको बाटो हो । अधोगतिको यात्रा हो । अधोगतिको यात्रामा लागेकाहरुलाई सकिन्छ सम्झाई बुझाई गरेर सही मार्ग देखाउँ । सकिँदैन यस्तालाई सूचिकृृत गरौं र टाडै बसौं ।
२०८१।०५।१५