२०८१ माघ १२, शनिवार , ०८:५५:४५ बजे

Sajhamanch
'

७७ वर्षको उमेरसम्म नागरिकताविहीन बिर्तामोडका प्रकाश थापा

आइतवार, भदौ १६, २०८१

बिर्तामोड । झापा बिर्तामोड-५ मा बस्दै आएका प्रकाश थापा नेपालमै जन्मिए तर ७७ वर्षको उमेरमा पनि नागरिकताविहीन छन् ।

उनका दाजुभाइ, श्रीमती र छोराको नागरिकता छ तर उनको छैन । उनकी श्रीमतीको माइतमै नागरिकता बनेको थियो । त्यसकै आधारमा छोराको पनि बन्यो । अहिले श्रीमती र छोरा सल्लाह गरेर नै अलग्गै बस्दै आएका छन् ।

झापाको बिर्तामोडमा २०१८ सालदेखि बस्दै आएका थापाले भने अझै नागरिकता बनाउन सकेका छैनन् । रामेछापको गोलाखर्कमा २००४ सालमा जन्मिएका थापाको अहिलेसम्म नागरिकता नहुँदा नेपाल सरकारले दिँदै आएको ज्येष्ठ नागरिक भत्ताबाट समेत बञ्चित हुनु परेको छ ।

थापाकी श्रीमती डल्ली थापा र छोरा राम थापा हाल प्रकाशसँग बस्दैनन् । उनीहरु हाल अलग्गै बुट्टाबारीमा बस्दै आए पनि छोरा बेलाबेलामा बुबालाई भेट्न आउने गरेको थापा बताउँछन् ।

थापाले सबै राजनीतिक दल, सामाजिक व्यक्तित्व, सामाजिक संघसंस्था साथै सरोकारवाला सम्पूर्णमा नागरिकता बनाउन पहल गरिदिन अपिलसमेत गरेका छन् ।

छिमेकी सुर्दशन गिरी, भरतलाल गिरीसहित गिरी परिवारको संरक्षणमा बस्दै आएका थापाले नागरिकता लिनका लागि प्रयास भने नगरेका होइनन् । उनले २०५९ सालमा नागरिकताका लागि प्रयास गरे । तर, उनलाई नागरिकता बनाउने क्रममा घुस मागेपछि पैसा नभएर बनाउन सकेनन् ।

फेरी उनका भतिज, दाजु डिल्ली र भाउजू पूर्णमाया थापाले पनि उनको नागरिकता बनाइदिने कोसिस गरे । त्यहाँ पनि घुस नै मागेपछि पुनः उनको नागरिकता बनेन । त्यसपछि भने अहिलेसम्म थापा नागरिकताविहीन छन् ।

सम्बन्धित खबर