२०८२ असार १५, आइतवार , ०४:२९:१२ बजे

Sajhamanch
'

शिवसताक्षीको रङ्याथान बजारमा तीज कार्यक्रम मनाइयो

आइतवार, भदौ १६, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षी नरपालिका वडा नं. ४ को आयोजनामा रंगेयाथन बजारमा स्थानीय दिदी बहिनीहरुले शनिबार तीज मनाएका छन् ।

झापा क्षेत्र नं. ४ का संघीय सांसद एलपी साँवा लिम्बूको प्रमुख आतिथ्यमा आयोजित तीज कार्यक्रममा बोल्दै सांसद साँवाले नेपाल सांस्कृतिक धार्मिक पर्वहरुको धनी रहेको बताए ।

हरितालिका तीजलाई मौलिक पर्वको रुपमा विकास गर्दै आफ्नो गच्छेअनुसार मनाउन सांसद साँवाले सबैलाई शुभकामना पनि दिए । यो पर्व एउटा संस्कृतिसँग जोडिएको छ । अहिले पहिलेको जस्तो दुःख छैन । उनले भने, त्यसैले त यस्ता सांस्कृतिक पर्वहरु सहज तरिकाले सामुहिक मनाउने प्रचलन बढ्दै गएको छ र यो सकारात्मक पक्ष पनि हो ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थोप्राले मानिसको अवस्था फेरिएसँगै परिस्थितिले साथ दिँदा आज यति ठूलो समूहमा सांस्कृतिक पर्व मनाउन पाएको बताए । पहिले माइतीहरुले आफ्ना दिदी बहिनीहरुलाई बोलाएर घरमा भेला भई तीज मनाउने चलन थियो । तर आज यसरी सामुहिक रुपमा तीज कार्यक्रम मनाएर सबै जाति भाषा, धर्मालम्बीहरुले साझा पर्वको रुपमा मनाउन थालिएको सुनाए । तीज पर्वलाई एउटा सभ्य र तडभडक नगरीकन मनाउन सुझाउँदै उनले सबैलाई शुभकामना दिएका थिए ।

तीज मिलन कार्यक्रमको औचित्य प्रष्ट्याउँदै वडाध्यक्ष विष्ण्ुा प्रसाईले वडाका सबै महिला दिदी बहिनीहरुलाई एक अर्काप्रति आत्मियता बढाउन एकै ठाउँमा भेला गरी तीजको कार्यक्रम राखिएको जानकारी दिए । उनले नेपाली नारीहरुको चाडलाई भव्य रुपले मनाउन सबैलाई आग्रह गरेका थिए ।

कार्यक्रममा आउने सबै महिला दिदी बहिनीहरुलाई खिर पकाएर खुवाइएको थियो भने करिब ५०० दिदी बहिनीहरुको उपस्थिति रहेको कार्यक्रममा शिवसताक्षी नगरपालिकाका प्रशासन प्रमुख डिल्ली नेपाल, सामाजसेवी निशा लिम्बू लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

सम्बन्धित खबर