२०८१ भदौ २९, शनिवार , ०७:४५:०५ बजे

Sajhamanch
'

सुधार केन्द्रका संचालक खड्काले घाइतेहरुको उपचार खर्च ब्यहोर्ने

शनिवार, भदौ १५, २०८१

बिर्तामोड । नयाँ सृष्टि पुनर्स्थापना केन्द्र बिर्ताबजारका संचालक आकाश खड्काले तीन दिन अघि भएको घटनामा आफ्नो गल्ती स्वीकार गर्दै घाइतेहरुको उपचार गरिदिने भएका छन् ।

खड्काले कुटपिटबाट घाइते भएकाहरुलाई अस्पतालमै गएर भेट गरी उपचार खर्च आफूले व्यहोर्ने बताएका हुन् । उनले घाइतेहरुको उपचार खर्च आफूले बेहोर्ने कुरा स्वीकार गरेको घाइते पक्षका दीर्घराज चैता मगरले बताए । गल्ती स्वीकार गरी खड्काले माफी माग्ने भएपछि मिलापत्रका लागि घाइते पक्ष तयार भएको पनि मगरले जानकारी गराएका छन् ।

तीन दिनअघि त्यस सुधार केन्द्रमा राखेका आफन्तलाई लिन जाँदा त्यसका सञ्चालक खड्कासहित कर्मचारीले एक महिलासहित तीन जनालाई निर्घात कुटपिट गरेको घटना बाहिर आएको थियो ।

कुटपिटबाट अर्जुनधारा–१ की सविना तामाङ, बिर्तामोड–५ का मनकुमार फेदाङ र बाबुराम योङहाङ घाइते भएका हुन् । कुटपिटबाट घाइते भएका तीनै जनाको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ ।

सञ्चालक खड्कासँग हरहिसाबका बारेमा प्रश्न उठाउँदा अश्लिल शब्दले गालीगलौज गर्दै एक्कासी कुटपिट गरेको पीडितले बताएका छन् ।

यसैबीच कुटाई खाने भानु राईले हिजो पत्रकार सम्मेलन गरी खड्काले गरेको ज्यादतीका विषयमा प्रहरीले उजुरी लिन नमानेको भन्दै फेरि आपत्ति जनाएका छन् । उनले शक्ति र पहुँचका भरमा दोषीलाई उन्मुक्ति दिलाउन नहुने भन्दै न्यायका दिलाउन सबैसँग अपिल पनि गरेका छन् ।