२०८१ भदौ २९, शनिवार , १०:०८:१४ बजे

Sajhamanch
'

ज्ञानुराम स्मृति प्रतिष्ठानले बिर्तामोडमा रक्तदान गर्ने

शुक्रवार, भदौ १४, २०८१

बिर्तामोड । ज्ञानुराम प्रसाई स्मृति प्रतिष्ठानले भदौ २५ गते रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । बिर्तामोडस्थित हनुमान सेन्ट्रल परिसरमा प्रतिष्ठानले रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो ।

प्रतिष्ठानका अध्यक्ष बद्रीप्रसाद भट्टराईले भदौ २५ गते प्रतिष्ठान सार्वजनिकीकरणसँगै रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । यसअघि बसेको प्रतिष्ठानको बैठकले रक्तदान आयोजना गर्ने निर्णय गरेको थियो ।

प्रतिष्ठानले ज्ञानुराम प्रसाईको स्मृतिमा स्मृति ग्रन्थ पनि प्रकाशन गर्ने निर्णय गरेको छ । त्यसका लागि प्रतिष्ठानले सरोकारवाला सबैसँग लेख रचना उपलब्ध गराउन अनुरोध गरेको अध्यक्ष भट्टराईले बताए ।

बिर्तामोडका सामाजिक एवम् राजनीतिक व्यक्तित्व ज्ञानुराम प्रसाईको स्मृतिमा प्रतिष्ठान गठन भएको हो । प्रसाईकी धर्मपत्नी पवित्रा महतारा प्रसाई मुख्य संरक्षक रहने गरी स्थापना भएको प्रतिष्ठान ११ सदस्यीय छ ।

प्रसाईले बिर्तामोडको राजनीतिक तथा सामाजिक क्षेत्रमा गरेको योगदानलाई चिरस्थायी बनाउने उद्देश्यले प्रतिष्ठान गठन गरिएको अध्यक्ष भट्टराईले बताए । प्रतिष्ठानमार्फत सामाजिक कामहरू सञ्चालन हुनेछन् ।

यसअघि प्रसाईको तेस्रो स्मृति दिवसको अवसर पारेर प्रतिष्ठानले शोक सभा आयोजना गर्नुका साथै अदुवा खोला करिडोर क्षेत्रमा वृक्षारोपण समेत गरेको थियो । प्रतिष्ठानले करिडोरको बाँकी क्षेत्रमा वृक्षारोपणलाई निरन्तरता दिने पनि निर्णय गरेको छ ।

शुक्रवार, भदौ १४, २०८१ | जिल्ला समाचार, समाज