२०८१ असोज ३, बिहिवार , ०६:४१:४३ बजे

Sajhamanch
'

भद्रपुर, शिवसताक्षी र दमकबाट लागुऔषधसहित ६ जना पक्राउ

मङ्गलवार, भदौ ११, २०८१

बिर्तामोड । झापाको भद्रपुर, शिवसताक्षी र दमकबाट लागुऔषधसहित छजना पक्राउ परेका छन् ।

भद्रपुर-५ स्थित मेचीपुलबाट दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर–८ हस्पिटल चोक बस्ने २७ वर्षीय मोहित शाह र भक्तपुर सूर्यविनायक-३ का २८ वर्षीय सन्दिप थापा छन् ।

अस्थायी प्रहरी बिट मेचीपुल र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे. १० प ३२८७ नम्बरको मोटरसाइकलमा रहेका शाहलाई पक्राउ गरेको थियो ।

शाहलाई शंका लागि जाँच गर्ने क्रममा उनको मलद्वारमा प्लास्टिकले पोका पारेर लुकाइछिपाइ ल्याउँदै गरेको प्रतिबन्धित लागुऔषध ब्राउन सुगर १० ग्राम ९२ मिलिग्राम भेटिएको प्रहरीले जनाएको छ ।

उनलाई सोधपुछ गर्ने क्रममा थापाका लागि ल्याएको खुलेपछि थापालाई पनि पक्राउ गरिएको हो । त्यस्तै, शिवसताक्षी–११ दुधेचोकबाट तीनजना र दमक–५ का एकजना प्रतिबन्धित औषधिसहित पक्राउ परेका हुन् ।

दुधेबाट पक्राउ पर्नेमा शिवसताक्षी–१० माईधारका २२ वर्षीय दिपेश तामाङ, शिवसताक्षी–९ झरनाचोकका २५ वर्षीय सिमान्त सुब्बा र शिवसताक्षी–३ धरमपुरका १९ वर्षीय श्याम दर्जी र दमक–५ का २० वर्षीय अर्जुन कार्की छन् ।

उनीहरुलाई हिजो राति इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले झिलझिलेबाट माईधारतर्फ जाँदै गरेको प्र. १–०१–०१५ प ३२२ नम्बरको स्कुटरसहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रतिबन्धित औषधि ठुलो मात्रामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित खबर