शिवसताक्षी । काफ्ले समाज झापाले आज शनिबार शिवसताक्षी नगरपालिकामा बसोबास गर्ने बन्धुहरुलाई शिवगञ्जमा भेला बोलाएर नगर कार्यसमिति गठन गरेको छ ।
समाजका जिल्ला उपाध्यक्ष तथा भेला आयोजक समितिका संयोजक यामनाथ काफ्लेको अध्यक्षतामा सम्पन्न भेलाले वडा नं ६ स्थायी बसोबास रहेका डिल्लीराम काफ्लेको अध्यक्षतामा नगर कार्यसमिति गठन गरिएको हो ।
कार्यसमितिको उपाध्यक्षमा वडा नं. २ का भीमनाथ काफ्ले, सचिवमा वडा नं. ६ का नारायण काफ्ले चयन भएका छन् । समितिका सदस्यहरुमा वडा नं. ९ का सुवास काफ्ले, वडा नं. ११ का नेत्रप्रसाद काफ्ले, वडा नं. ६ का सुमन काफ्ले, वडा नं ६ का लोकनाथ काफ्ले र वडा नं २ का कृष्णप्रसाद काफ्ले चयन भएका छन् ।
भेलामा उपस्थित बन्धुहरु मध्येबाट ज्येष्ठ बन्धु ८१ वर्षीय गोपीकृष्ण काफ्लेको विशेष आतिथ्यमा सम्पन्न सो भेलामा काफ्ले समाजका केन्द्रीय सदस्य तोयानाथ काफ्लेले देशैभरका बन्धुहरु समाजको प्रवद्र्धनका लागि के गरिरहेका छन् भन्ने विषयमा प्रकाश पारेका थिए ।
उनले काफ्ले परिवारमा कसैको मरिमराउ भयो भने समाजको अग्रसरतामा अनिवार्य पुग्ने र दशगात्र कर्म सहयोगका रुपमा कम्तीमा २०० रुपैयाँ सरहे जम्मा गर्ने परिपाटीलाई कार्यान्वयन गरिँदै लगेको बताए ।
काफ्ले समाज र काफ्ले बन्धु कल्याण समितिका नाममा एउटै थरका दुईवटा संस्था दर्ता भएकाले दुवैलाई कुन विधिबाट एकीकरण गर्न सकिन्छ भन्ने विषयमा गहन छलफल भइरहेको सुनाउँदै केन्द्रीय सदस्य काफ्लेले समाजको बैठकले एकता वार्ता समिति गठन गरेर काम अघि बढेको पनि जानकारी गराए ।
निवर्तमान जिल्ला सचिव गोविन्द काफ्लेले सञ्चालन गरेको सो कार्यक्रममा समाजका जिल्ला अध्यक्ष गोपाल काफ्लेले झापामा समाजले गरिरहेको कामका बारेमा अवगत गराएका थिए ।
उनले यही कात्तिकभित्रमा १५ वटै पालिकाहरुमा स्थानीय समिति गठन गरिसक्ने गरी संयोजकहरुलाई जिम्मेवारी दिइएकाले अब तोकिएको म्यादभित्रै पालिका समितिहरु गठन तथा पुनःगठन गर्नेगरी काम भइरहेको अध्यक्ष काफ्लेले जनाए ।
अध्यक्ष काफ्लेले नेपालमा नै पहिलो पटक काफ्ले समाज झापाले काफ्ले जनगणना र घरधुरी सर्वेक्षण गर्ने तयारी अन्तिम चरणमा पुर्याएकोले स्थानीय समितिहरुबाट पनि उक्त कार्यमा महत्वपूर्ण टेवा पुग्ने प्रष्ट्याएका थिए ।
भेलामा जिल्ला कार्यसमितिका उपाध्यक्ष सिता भट्टराई काफ्ले, कोषाध्यक्ष रमेशकुमार काफ्ले, सदस्य टुम्मनाथ काफ्ले, कोशी प्रदेश कार्यसमितिका सदस्य पोष्टप्रसाद काफ्ले, तात्कालिन पूर्व क्षेत्रीय कार्यसमितिका सदस्य सोमनाथ काफ्लेलगायत नगरबासी बन्धुहरुको सहभागिता थियो ।