बिर्तामोड । झापाको बिर्तामोडस्थित बीएण्डसी हस्पिटलका संस्थापक तथा दुर्गा प्रसाईका दाजु महेन्द्र प्रसाई मृत भेटिएका छन् । प्रसाईले आत्महत्या गरेका प्रहरीले जनाएको छ ।
अर्जुनधारा नगरपालिका ६ महानन्द चौक निवासी प्रसाइँले बिर्तामोड–१ स्थित नरेन्द्र मैनालीको घरमा गएर आज शुक्रबार बिहान आत्महत्या गरेका हुन् ।
करिव एक घण्टाअघि उनी झुन्डिएको थाहा भएको थियो । मैनाली काठमाडौमा बस्दै आएका छन् । उनको खाली घरको दोस्रो तलामा गएर प्रसाई झुन्डिएको प्रहरीले बताएको छ ।
उनी लामो समयसम्म बिर्तामोडको बीएण्डसी हस्पिटलका सञ्चालक रहेका थिए । उनी, दुर्गा प्रसाई र बुद्धशान्तिका प्रेम नेम्वाङको सक्रियतामा बीएण्डसी हस्पिटल स्थापना भएको थियो । नेम्वाङ र मृतक प्रसाईँ केही समय पहिला नै हस्पिटलबाट बाहिरिएका थिए ।
सुरुमा जमिनको कारोबार गरेका उनी हस्पिटलबाट बाहिरिएपछि सार्वजनिक कार्यक्रममा खासै देखिन छोडेका थिए । उनले दुर्गा प्रसाईभन्दा अगाडि भ्रष्टाचार विरोधी अभियान सञ्चालन गरेका थिए । पछि दुर्गा प्रसाई नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानमा जोडिएका थिए ।
केही वर्षदेखि जग्गा जमीनको कारोबार गर्दै आएका प्रसाईको करोडौं रकम मैनालीले चलाएर फिर्ता नगरेको बताइएको छ ।