ताप्लेजुङ । अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकपअन्तर्गत आज भएको पहिलो चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लब काठमाडौँलाई ३–० गोलले पराजित गर्दै झापाको बिर्तामोड युनाइटेड फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।
अन्तिम क्वार्टरफाइनलको खेलमा बिर्तामोडका अभिषेक गुरुङ, देवेन्द्र कार्की र हिसुब थपलियाले गोल गरेका थिए। झापाले अब सेमिफाइनलको खेलमा सिरहाको सलहेस युवा क्लबसँग खेल्नेछ। सिरहाले पाँचथर फुटबल क्लबलाई १–० गोलले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो।
त्रिभुवन आर्मी क्लब काठमाडौँ भरत खवास र नवयुग श्रेष्ठलगायत खेलाडीसहित मैदानमा उत्रिएको थियो। आसिकबाबु चौधरी, जितेन्द्र कार्कीलगायत चर्चित खेलाडी पनि आर्मीको टिममा थिए।
बुधवारको खेलबाट मोरङको सगरमाथा युथ क्लब सेमिफाइनलमा प्रवेश गरिसकेको छ। मोरङले रूपन्देहीको बुटवल लुम्बिनी फुटलब क्लबलाई १–० गोलले हराउँदै सेमिफाइनलमा ताप्लेजुङसँग प्रतिस्पर्धा सुनिश्चित गरेको हो।
घरेलु टिम सङ्घर्ष स्पोर्टिङ युवा क्लब भारतको कञ्चनजङ्घा फुटबल क्लबलाई ७–५ गोलले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ। भोलि हुने सेमिफाइनलको पहिलो खेल सङ्घर्ष स्पोर्टिङ युवा क्लब र मोरङको सगरमाथा युवा क्लबबीच दिउँसो २ बजे हुनेछ।
लाखे जात्राको अवसरमा आयोजित प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ र उपविजेताले २ लाख ५० हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिताको फाइनल खेल भदौ १० गते हुनेछ।
दर्शकका लागि क्वार्टरफाइनलमा १००, सेमिफाइनलमा २०० र फाइनलका लागि २५० रुपैयाँ टिकट दर निर्धारण गरिएको छ। गत वर्षको गोल्ड कपमा टिकटबाट मात्र करिब १९ लाख रुपैयाँ सङ्कलन भएको थियो।