मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको संयोजनमा तीन जना सडक मानवको उद्धार गरिएको छ । नगर प्रमुख गोपालचन्द्र बुढाथोकी उपप्रमुख मीना पोख्रेल उप्रेतीसहितको टोलीले मेचीनगर क्षेत्रमा रहेका बेवारिसे अवस्थामा सडक पेटी तथा मठमन्दिरमा रहँदै आएमा मानिसलाई उद्धार गरिएको हो ।
विभिन्न कारणले बेवारिसे अवस्थामा रही अव्यवस्थित रूपमा कष्टकर जीवन व्यतीत गरिरहेका मेचीनगर ७ मदन बस्तीका कृष्ण राजवंशी, इलाम बरबोटेका तुलसी गौतम र ठेगान नखुलेका चत्रुधन मिश्रालाई मदनबस्ती र काँकडभिट्टाबाट उद्धार गरी नगरप्रमुख, उपप्रमुखसहित होमनाथ तिमल्सिनाको नेतृत्वमा रहेको मानव सेवा आश्रमका टोलीले मानव सेवा आश्रम मेचीनगर ४ बाहुण्डाँगीमा लगेका छन् ।
उद्धार गरिएका तीन जनालाई मानव सेवा आश्रम पुर्याएर सरसफाइ गरी लत्ताकपडा फेरि खाना खुवाएर पश्चात् मात्रै नगरप्रमुख उपप्रमुख फर्किएका थिए । अव्यवस्थित रूपमा कष्टकर जीवन व्यतीत गरिरहेका सडक मानवहरूको उचित रूपमा खाने, बस्ने र बिरामी हुँदा औषधि उपचार समेत गर्ने प्रबन्ध मिलाएको हुँदा उद्धार गरिएको उनीहरूलाई आश्रममा राख्न पुर्याइएको नगरप्रमुख बुढाथोकीले बताए ।
भर्खरै सञ्चालनमा आउँदै गरेको मानव सेवामा समर्पित यस आश्रमका लागि अहिले सबैको साथ र सहयोग आवश्यक रहेको छ । मेचीनगरसहित झापालाई सडक मानव मुक्त बनाउने अभियान अन्तर्गत मानव सेवा आश्रमलाई अगाडि सारिएको बताउँदै उनले यसलाई अगाडि बढाउन अघिल्लो आर्थिक वर्षमा २५ लाख विनियोजन गरिएको जानकारी दिए। साथै चालु आर्थिक वर्षमा पनि १० लाख बजेट विनियोजन गरिएको उनको भनाइ छ ।
त्यस्तै उनले यस अघि नै मेचीनगरको संयोजनमा कनकाई नगरपालिकामा बसेको पालिका स्तरीय बैठकबाटै जिल्लाका कनकाई नगरपालिका, भद्रपुर नगरपालिका, बिर्तामोड नगरपालिका, अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकालगायतले पनि यस कार्यमा सहकार्य गर्न केही बजेट समेत विनियोजन गरिसकेका उनको भनाइ छ ।
सडक मानवको रूपमा अव्यवस्थित र अति कष्टकर जीवन बिताइ रहेका मानिसहरूको बारेमा मेचीनगर सधैँ चिन्तित छ । अहिले आएर मानव सेवा आश्रम मार्फत भए पनि उनीहरूको व्यवस्थापन गर्न सहज भएको उपप्रमुख उप्रेती बताउँछिन् । उनले पवित्र उद्देश्यले मानव सेवाका लागि स्थापना गरिएको मेचीनगर ४ बाहुण्डाँगीमा अवस्थित यस आश्रममा खाद्यान्न, जिन्सी तथा नगद सहयोग गर्न सकिने बताइन् ।