२०८१ मंसिर १६, आइतवार , १२:५८:३६ बजे

Sajhamanch
'

बिर्तासिटी अस्पतालबाट थुनुवा भागेपछि प्रहरी हवल्दार राई निलम्बनमा

बिहिवार, भदौ ६, २०८१

झापा । उपचारका लागि सँगै लिएर गएको थुनुवा भागेपछि इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी हवल्दार बमबहादुर राईमाथि कारबाही शुरु गरिएको छ ।

प्रहरी हवल्दार राईले उपचारका लागि बिर्ता सिटी अस्पताल लिएर गएका थुनुवा विशाल राई हतकडी फुस्काई मंगलवार दिउँसो फरार भएका थिए ।

हिजो दिनभरि इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको टोलीले खोजतलास गर्दासमेत राई अझै भेटिएका छैनन् । मंगलवार दिउँसो ४ बजे पेट दुख्ने बिरामी भई बिर्ता सिटी अस्पतालमा बेड भर्ना भई उपचार भइरहेका दमक नगरपालिका-३ भुटानी शरणार्थी सेक्टर जी थ्री भई हाल न.१ मा डेरा गरी बस्ने २५ वर्षीय विशाल राई हतकडी फुस्काई फरार भएका हुन् ।

लागूऔषध मुद्दामा पक्राउ परेका राईको सुरक्षामा प्रहरी हवल्दार बमबहादुर राई खटिएका थिए । प्रहरी हवल्दार राईलाई निलम्बन गरी कारबाही शुरु गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडमा डीएसपी प्रकाश विष्टले बताए ।

उनले ती थुनुवा हतकडी फुस्काएर कसरी भागे भनेर अनुसन्धान भइरहेको जानकारी दिए । उपचारका लागि सँगै लिएर गएका थुनुवा भागेपछि प्रहरी हवल्दार राईमाथि विभागीय कारबाही शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।

उपचारमा रहेका थुनुवा राईले हात दुख्यो हतकडी खुकुलो बनाइदिनु भनेर भन्दा प्रहरी हवल्दार राईले हतकडी खुकुलो बनाइदिएका थिए । त्यसपछि ती थुनुवा हतकडीबाट हात फुस्काएर भागेको जनाइएको छ ।

भदौ २ गते राति अन्दाजी ९ः३० बजे बिर्तामोड नगरपालिका-१ पश्चिम बस स्ट्यान्डमा शङ्कास्पद अवस्थामा हिँडडुल गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले राईलाई चेकजाँच गर्दा उनको साथबाट प्लास्टिकसहित १ ग्राम ४४ मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा राखी ५ दिन म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको थियो ।

सम्बन्धित खबर