२०८१ असोज ३, बिहिवार , ०८:४८:४७ बजे

Sajhamanch
'

फर्जी बिल बनाएर सवा २ करोड झ्वाम पार्ने अस्पतालको प्रयास

मङ्गलवार, भदौ ४, २०८१

झापा । झापाका दुईसहित कोशी प्रदेशका छवटा अस्पतालले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार कार्यक्रममा व्यापक अनियमितताको प्रयास गरेका छन् ।

झापाको दमकस्थित किओच अस्पतालले २९ लाख ४० हजार ३९५ रुपैयाँ, झापाकै भद्रपुरस्थित प्रादेशिक अस्पतालले ३ लाख ६९ हजार ५१६ रुपैयाँ बढी भुक्तानीको माग दाबी गरेको खुलेको हो ।

त्यस्तै, फर्जी बिल तथा विवरण पेस गर्नेहरूमा नोबेल अस्पतालले १ करोड २८ लाख, विराट मेडिकल कलेजले ५१ लाख ११ हजार ६७५ रुपैयाँ, उदयपुर हस्पिटलले ४४ हजार ७७७ रुपैयाँ र संखुवासभा हस्पिटलले ५ लाख २६ हजार १५१ रुपैयाँ ५८ पैसा छन् ।

ती अस्पतालले चार महिनामा ८ हजार २१३ जना बालबालिकाको उपचार गरेको बिल पेस गरेका थिए । त्यसबापत ६ करोड ९७ लाख १३ हजार ६४२ रुपैयाँ २३ पैसाको बिल भुक्तानीको लागि पेस गरेका थिए ।

स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बीमा बोर्डबाट कर्मचारी ल्याएर बिल तथा विवरण अध्ययन गर्दा २ करोड १८ लाख ८१४ रुपैयाँ १६ पैसाको फर्जी दाबी गरेको पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

निःशुल्क उपचार गर्न तोकिएका अस्पतालहरूले प्रदेश सरकारलाई बिल तथा बिरामीको विवरण पठाउँदा फर्जी कागजात बनाएको पुष्टि भएको हो ।

प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डक्टर राधिका थपलियाले स्वास्थ्य बीमाको दरअनुसार ४ करोड ७९ लाख १२ हजार ८२८ रुपैयाँ ७ पैसाको मात्रै उपचार गरेको पाइएपछि सोहीअनुसार रकम भुक्तानी गरिएको बताइन् । सरकारले अस्पतालसँग स्वास्थ्य बीमाको दररेटमा भुक्तानी गर्ने सम्झौता गरेको थियो ।

तर, अस्पतालहरूले त्योभन्दा महँगो रेट जिल्लास्थित स्वास्थ्य कार्यालयमा पेस गरेका थिए । त्यसमाथि स्वास्थ्य मन्त्रालयले छानबिन गरेर रकम यकिनपछि मात्र भुक्तानीको अनुमति दिएको थियो ।

नोबेलले पेस गरेको बिल प्रतिबिरामी ३ लाख रुपैयाँसम्मको छ । तर, बिलमा उल्लेखित व्यक्ति वास्तविक बिरामी हुन् कि हैनन् भन्नेमा मन्त्रालय नै स्पष्ट छैन ।

एनआइसियुमा बिरामी राखेको ठुलो रकमको बिल देखेपछि मोबाइल सम्पर्कको प्रयास गर्दा फोन नै नलागेको बताइन्छ ।

प्रदेश सरकारले उक्त उपचार सेवाका लागि गत आर्थिक वर्षको बजेटमा ३ करोड रुपैयाँ विनियोजन गरेको थियो । यो कार्यक्रम २०८० माघ १० गतेदेखि लागु गरिएको थियो ।

सम्बन्धित खबर