भद्रपुर । भद्रपुर नगरपालिका वडा नं. ६ स्थित मोरान मेमोरियल स्कूलले सामाजिक उत्तरदायित्व अन्तरगत आज सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा ३१४ जनाले सेवा लिएका छन् ।
भद्रपुर, हल्दिबारी र कचनकवलका सिमान्तकृत विपन्न नागरिकका लागि लक्षित गरेर सञ्चालन गरेको स्वास्थ्य शिविरमा बालरोग, फिजिसियन, आँखा, नाक, कान, घाँटी र दन्त रोगको उपचार सेवा निःशुल्क रुपमा प्रदान गरिएको थियो ।
नेपाल डटर्स अफ दि क्रस भद्रपुर–६ को तत्वाधानमा नेपाल जेसुइट संस्थाको प्रायोजन र ओमसाई पाथीभरा अस्पताल भद्रपुर एवम् मेची नेत्रालय काँकरभिट्टाको प्राविधिक सहयोगमा विद्यालय परिसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको समन्वयकर्ता गोविन्द कोइरालाले जानकारी दिए ।
उनका अनुसार विभिन्न ३१४ व्यक्तिको स्वास्थ समस्या अन्तरगत ओमसाई पाथीभरा अस्पतालको विशेषज्ञ टोली फिजिसियन, स्त्रीरोग, बालरोग, दन्त परीक्षण र मेची नेत्रालय काँकरभिट्टाको टोलीले आँखा जाँच गरेका थिए । सेवा लिन आएका बिरामीलाई आवश्यक औषधिहरु निःशुल्क वितरणसमेत गरिएको जनाइएको छ ।
डटर्स अफ दि क्रसका अध्यक्ष अम्बर बिष्टको अध्यक्षता तथा भद्रपुर–६ का वडाध्यक्ष रतिया राजवंशीको प्रमुख आतिथ्य रहेको शिविर उद्घाटन कार्यक्रममा डटर्स अफ दि क्रसको तर्फबाट सुपेरियर सिस्टर बिन्दू एफसिले स्वागत गरेकी थिइन् । स्वास्थ्य शिविरको नगरपालिकाका उपप्रमुख राधा कार्की, गुरुकूलका अध्यक्ष शान्ता बराल, सामाजिक अभियन्ता आशा फुयँल लगायतले अवलोकन निरीक्षण गरेका थिए ।