
अर्जुनधारा । नेपाली कांग्रेस झापाका जिल्ला सदस्य बाबुराम बुढाथोकीको ६४ वर्षको उमेरमा निधन भएको छ । केही समयदेखि अस्वस्थ उको बिहीबार साँझ अर्जुनधारा–३ खुदुनाबारीस्थित निजी निवासमा निधन भएको हो ।
पार्टीका विभिन्न पदीय जिम्मेवारीमा रेहेका उनले नेपाली कांग्रेसको १३औं महाधिवेशनबाट साविक खुदुनाबारी गाउँ समितिको पार्टी सभापतिमा निर्वाचित भएका थिए । उनी १४औं महाधिवेशनमा जिल्ला कार्यसमिति सदस्यमा निर्वाचित भए ।
बुढाथोकीको पार्थिव शरीरमा नेपाली कांग्रेस झापाका कार्यवाहक सभापति केशवराज पाण्डे, सचिव कृृष्ण हुमागाई, कोशी प्रदेश सदस्य रञ्जिता कार्की, २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनाली, अर्जुनधारा नगर सभापति हेमराज खरेललगायत नेता कार्यकर्ताले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली ब्यक्त गरेका छन् ।
खुुदुनाबारीस्थित कैंदले घाटमा उनको पार्थिव शरीर आजै अन्त्येष्ठी गरिएको छ । बुढाथोकीका दुई श्रीमती, ३ छोरा र ५ जना छोरी रहेको पारिवारिक स्रोतले जनाएको छ ।
पार्टी जिल्ला सदस्य बुढाथोकीको निधनप्रति शोक समवेदना ब्यक्त गर्दै तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने र जिल्ला पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय भएको सचिव कृष्ण हुमागाईले जानकारी दिएका छन् । उनका अनुसार तीन दिनसम्म कुनै पनि औपचारिक कार्यक्रमहरु गरिने छैन ।
२०१७ साल माघ १० गते पाँचथरको याङनाममा बुवा मनप्रसाद बुढाथोकी र आमा नैनकला बुढाथोकीबाट जन्मनुभएका बाबुरामको परिवार २०२४ सालमा बसाई सरी झापाको खुदुनाबारीमा आएर बसोबास गर्न थालेको थियो ।
विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसले जारी राखेको प्रजातान्त्रिक आन्दोलनमा सहभागी बाबुराम २०४९ सालमा नेपाली कांग्रेसको तर्फबाट खुदुनाबारी गाविसको ३ नम्बर वडाको वडाध्यक्ष निर्वाचित भएक थिए ।
राजनीतिक र सामाजिक गतिविधिमा सक्रिय उनी २०५६ सालमा सुखानी सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा निर्वाचित भएर आफ्नो जिम्मेवारी कुशलतापूर्वक पूरा गरेका थिए ।