२०८१ पौष २४, बुधवार , ११:३६:५५ बजे

Sajhamanch
'

आदर्श साकोसमा वार्षिक कार्ययोजनाका निर्माणका लागि अन्तरक्रिया

बिहिवार, साउन ३१, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षीस्थित दूधेमा रहेको आदर्श बचत तथा ऋण सहकारी संस्था (साकोस)ले चालू आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम तयार गर्न पूर्व कार्यसमिति सदस्यहरुसँग अन्तरक्रिया गरेको छ ।

अन्तरक्रियामा संस्थाका व्यवस्थापक प्रकाश पोख्रेलले वार्षिक साधारण सभाको तयारी हुँदै गरेको जानकारी दिँदै साधारण सभामा प्रस्तुत गर्ने नीति, कार्यक्रम तथा वार्षिक कार्यायोजना निर्माणका लागि सुझाव मागेका थिए । उनले समुदायको अपेक्षा र सहकारीले गर्नसक्ने नयाँ कार्यक्रमहरु के हुन सक्छन्, कस्ता कार्यक्रम सुरु गरेमा सदस्यहरुको आय आर्जनमा बृद्धि गर्न सकिन्छ भन्ने सुझाव संकलन गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताए ।

अन्तरक्रियामा युवा लक्षित कार्यक्रम, विद्युत वाइरिङ्ग, प्लम्बिङ्ग, सिटिइभीटीबाट मान्यता प्राप्त प्रमाणपत्र दिने सकिने गरी तालिम चलाउनु पर्ने माग आएको थियो । भोलिका दिनमा नेपाल वा वैदेशिक रोजगारीका रहँदा पनि आफूले सिकेको सीप काम लाग्ने हुनुपर्ने सहभागीहरुको सुझाव थियो ।

सहभागीहरुबाट जोखिम कर्जालाई केही सहजीकरण गरेर उठाउनु पर्ने, वित्तीय संकट परेका बेला संस्थाले गर्ने खर्चमा मितव्ययिता अपनाउनु पर्ने, समस्यामा रहेका ऋणीहरुलाई कम व्याजमा थोरै भए पनि पुनः ऋण दिने व्यवस्था मिलाई उसलाई फेरि व्यापारमा फर्काउन कोशिस गरिनुपर्ने जस्ता सुझाब आएको व्यवस्थापक पोख्रेलले जानकारी दिए ।

अन्तरक्रियामा संस्थाका अध्यक्ष चन्द्रबहादुर थापाले गएको दुई वर्ष देशैभर वित्तीय संकट आएकाले ठूलो लक्ष्य राखेर काम नगरेको जानकारी दिँदै आफूहरुले धेरै मितव्ययिता अपनाएर कार्यक्रमहरु गर्र्दै आएकोले संस्था ठिक ढंगले चलिरहेको बताए ।

अन्तरक्रियामा डम्बर खड्का, शिवप्रसाद भट्टराई, धनपति बाँस्कोटा, नरपति पाठक लगायतले आफ्ना कुराहरु राखेका थिए । कार्यक्रमको सहजीकरण संस्थाका व्यवस्थापक प्रकाश पोख्रेलले गरेका थिए ।

सम्बन्धित खबर