२०८१ पौष २७, शनिवार , ०५:२८:१९ बजे

Sajhamanch
'

मजदुरलाई मालिक बनाउने कनकाई नगरपालिकाको योजना अलपत्र

बिहिवार, साउन ३१, २०८१

बिर्तामोड। झापाको कनकाई नगरपालिकामा मजदुरलाई मालिक बनाउने नगरकै अत्यन्तै महत्वकांक्षी योजना अलपत्र परेको छ ।

स्थानीय तहको पहिलो निर्वाचनपछि नगर क्षेत्रमा रहेका मजदुरलाई मालिक बनाउने महत्वकांक्षी योजनाका साथ कम्पनी रजिष्ट्रारको कार्यालयमा समेत दर्ता कायम रहेको कनकाई ७ स्थित श्रमिक स्वावलम्बन उद्योग लिमिटेड हाल अलपत्र अवस्थामा पुगेको हो ।

पाँच वर्षअघि कनकाई नगरपालिकाले एक करोड रुपैयाँको बजेट व्यवस्थापन गरी निर्माण सुरु गरेको उद्योगस्थलको घेराबारामा १८ लाख ५० हजार र एउटा भवन (उत्पादन घर) साथै कार्यालय भवनसहित शौचालय निर्माणमा १५ लाख रुपैयाँ खर्च भएको तत्कालीन उपभोक्ता समितिका सचिव प्रेमप्रसाद अधिकारी बताउँछन् ।

दुर्गापुर बजार पूर्वतर्फ एक बिघा १७ कठ्ठा जमिनमा वरिपरि प्लम उठाएर तारजालीसहित व्यवस्थित घेराबारा गरेर फलामे गेट लगाएको उद्योग क्षेत्र अहिले लागुऔषध प्रयोगकर्ताहरुको अखडा बनेको छ ।

प्रारम्भिक चरणमा पेवर्स (ब्लक) उत्पादन गर्ने त्यसपछि क्रमिक रुपले ह्युमपाइप र विद्युत पोल उत्पादन गर्ने योजना रहेको उपभोक्ता समितिका अध्यक्ष मातृका पोखरेल बताउँछन् ।

उद्योगका बारेमा कार्यपालिका बैठकमा पनि छलफल हुन छोडेको वडा नम्बर ५ का वडा अध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर राईले बताए ।

उद्योगका विषयमा नगरप्रमुख राजेन्द्रकुमार पोखरेलसँग नगरपालिकामै गएर समय माग्दा ‘कार्यक्रममा जानुपर्नेछ, ढिला भइसक्यो’ भन्दै बाहिरिएका थिए ।

कनकाई नगर क्षेत्रमा १० हजारभन्दा बढी मजदुरहरु रहेको स्वतन्त्र मजदुर संगठन कनकाई नगर समितिका पूर्वअध्यक्ष केशर न्यौपानेले जानकारी दिए ।

सम्बन्धित खबर