बिर्तामोड । झापाको बिर्तामोड वडा नम्बर–६ सुगम शान्ति टोलमा चोरले आक्रमण गर्दा एक महिला घाइते भएकी छन् ।
हिजो राती कृतिका अधिकारीको घरमा दोस्रो तलाको झ्यालबाट चोर पसेपछि उनले चोरसँग प्रतिकार गर्दा नाकमा सामान्य चोट लागि बेहोस भएकी थिइन् । घरमा एक वर्षकी छोरीसगँ बस्दै आएकी उनका श्रीमान् विष्णुप्रसाद अधिकारी हाल बिदेशमा रहेका छन् ।
चोरले दराजबाट अन्दाजी तीन तोला सुन, एक तोला चाँदी, अन्दाजी लत्ताकपडा एक लाख रुपैयाँ बराबरको, झर्के थाल–१० थान, बटुका–५ थान, ओपो कम्पनिको मोबाइल–१ थान गरी जम्मा अन्दाजी ५ लाख ७५ हजार रुपैयाँ बराबरको चोरी भएको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका डिएसपी प्रकाश बिष्टले जानकारी दिए ।
घाइते अधिकारीलाई तत्काल उपचारको लागि बिर्तासिटि अस्पतालमा लगेको र सामान्य उपचारपछि घर फर्किएकी छन् । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।