
हल्दिबारी । सूचनाको हकका लागि राष्ट्रिय महासंघ कोशी प्रदेशका उपाध्यक्ष इश्वरा तिवारीका नाममा हल्दिबारी गाउँपालिका वडा नम्वर ३ का वडाध्यक्ष विष्णुप्रसाद ओलीले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर पत्रचार गरेको निष्कर्षसहित महासंघले आपत्ति जनाएको छ ।
सामाजिक अभियन्ता इश्वरा र उनका श्रीमान खड्गवहादुर तिवारीको नाम नै तोकेर वडा कार्यालयले छलफलका लागि पत्रचार गर्नु कानूनको ठाडो उल्लङ्घन भएको महासंघका महासचिव सुरेन्द्र भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
हल्दिवारी ३ निवासी तिवारीले स्थानीय एक महिलाको चरित्रहत्या हुनेगरी सामाजिक सञ्चालमा फोटो राखेको आरोप लगाउँदै छलफलका लागि वडा कार्यालयमा २८ गते उपस्थित हुन भनेको थियो ।
वडाध्यक्ष ओलीद्वारा जारी सूचनामा सावित्रा खत्रीको माग निवेदन अनुसार खेतबाट पानी कटाउने क्रममा बाटो खन्दा फोटो खिची सामाजिक सञ्जालमा प्रयोग गरी चरित्रहत्या गरेको भन्दै तिवारीलाई छलफलका लागि बोलाएको थियो ।
उक्त विषयमा वडाध्यक्षले कानूनको उल्लङ्घन गर्दै पत्रचार गरेको विषयलाई महासंघले क्षेत्राधिकारभन्दा बाहिर गएर पत्रचार गरेको निष्कर्षसहित ध्यानाकर्षणसहितको विज्ञप्ति जारी गरेको हो ।
महिलाको चरित्रहत्या भएको भए न्यायका लागि जाने अन्य निकाय रहेकोमा वडा कार्यालयमा छलफल गराउने भन्दै बोलाइएको घटनाप्रति महासंघले आपत्ति जनाउदै सम्वन्धित सबैको ध्यानाकर्षण गराएको हो ।