२०८१ पौष १२, शुक्रवार , १०:५३:५१ बजे

Sajhamanch
'

जग्गा विवादमा महिलाको हत्या, श्रीमान पक्राउ

आइतवार, साउन २७, २०८१

विराटनगर । अंश विवादमा मोरङको सुन्दरहरैँचामा एक महिलाको हत्या भएको छ । प्रहरीका अनुसार सुन्दरहरैँचा नगरपालिका–१० बाघझोडाकी ४१ वर्षीया पवित्रा फुयाँल नेपालको हत्या भएको हो । हत्यामा संलग्नको आरोपमा प्रहरीले उनका श्रीमान ५८ वर्षीय लक्ष्मण नेपाललाई पक्राउ गरेको छ ।

सामान्य विवादमा लक्ष्मणले आइतबार बिहान ११ बजेतिर श्रीमतीमाथि खुकुरी प्रहार गरेको पाइएको प्रहरीको भनाइ छ । खुकुरी प्रहारबाट गम्भीर घाइते महिलाको नोबेल शिक्षण अस्पतालमा आइतबार दिउँसो मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार अंश विवादका कारण उक्त घटना भएको हो ।

नेपाल दम्पतीले किनेको १६ धुर जग्गा किनेर पवित्राको नाममा थियो । दुई जनाबीच झगडा भएपछि एक अर्काविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए ।

लक्ष्मणले अदालतमा जग्गा रोक्कासम्बन्धी मुद्दा हालेका थिए । पवित्राले घरेलु हिंसा र मानाचामल सम्बन्धी मुद्दा दर्ता गरेकी थिइन् । तर अदालतले दुवैलाई मिलापत्र गराएको थियो ।

मिलापत्रपछि पनि माइत बसेकी श्रीमतीलाई मिलेर बस्नुपर्छ भन्दै लक्ष्मणले घरमा बोलाएर आइतबार खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ । पत्नीको हत्यामा संलग्न भएको आरोपमा लक्ष्मणलाई घरबाटै पक्राउ गरेको डीएसपी बस्नेतले बताए ।

आइतवार, साउन २७, २०८१ | अपराध, समाज

सम्बन्धित खबर