काठमाडौं । पेरिस ओलम्पिकअन्तर्गत महिला म्याराथनमा नेपालकी सन्तोषी श्रेष्ठले ७९ औँ स्थानमा रहँदै दौड पूरा गरेकी छिन् ।
आज भएको प्रतिस्पर्धामा सन्तोषीले निर्धारित दुरी २ घण्टा ५५ मिनेट ०६ सेकेन्डमा पूरा गरिन् । उनी युनिभर्सियालिटी कोटाबाट पेरिस ओलम्पिकमा छनोट भएकी थिइन् ।
महिला म्याराथनमा नेदरल्यान्ड्सकी सिफान हसनले २ घण्टा २२ मिनेट ५५ सेकेन्डमा दुरी पार गर्दै स्वर्ण पदक जितिन् । यस्तै इथियोपियाकी टिग्स्ट असेफाले रजत र केन्याकी हेलेन ओबिरीले कास्य पदक जितिन् ।
पेरिस ओलम्पिकमा नेपालबाट सहभागी सातमध्ये छ जना खेलाडी ओलम्पिकमा सहभागी भएर स्वदेश फर्किसकेका छन् । नेपालबाट पौडीका एलेक्जेन्डर शाहले एक सय मिटर फ्री–स्टाइलमा राष्ट्रिय रेकर्ड बनाउनुबाहेक उनीसहित अरू खेलाडी पहिलो चरणबाट नै बाहिरिएका थिए ।
टेबल टेनिसका स्यान्टु श्रेष्ठ, पौडीकी डुवाना लामा, ब्याडमिन्टनका प्रिन्स दाहाल र जुडोकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाट बाहिरिएका हुन् । ३३ औँ ग्रीष्मकालीन ओलम्पिकको आज समापन हुँदैछ ।