भद्रपुर । भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालले नेपालमै पहिलो पटक निजीक्षेत्रबाट डिएनए टेस्ट सेवाको सुरूवात गरेको छ ।
तीन महिना अगाडि झापाको बिर्तामोडबाट मेरो डिएनए कार्यक्रम मार्फत भारतीय व्यानरमा परीक्षण सेवा सुरूवात गरेको अस्पतालले आफ्नै नामबाट भने भद्रपुरमा नेपालमै पहिलो पटक डिएनए टेस्ट सेवा थालेको हो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिपक पोखरेलका अनुसार ६ वर्ष अगाडि अमेरिकाबाट सुरू भएको अत्याधुनिक रोग पहिचान सेवा मानव जीवनमा एकपटक मात्र टेस्ट गर्दा सबै पक्षको जानकारी दिने डिएनए टेस्ट सेवाको नेपालमै पहिलो पटक सुरूवात गरिएको हो ।
अध्यक्ष पोखरेलका अनुसार दुई वर्षमाथिका मानिसको परीक्षण हुने डिएनए टेस्टले मानिसका शरीरमा भइरहेका तथा हुन सक्ने रोगको बारेमा जानकारी दिने हुँदा शरीर भित्रका रोगको पहिचान गरी उपचार सेवाको अवसर मिलाउन सकिने छ ।
डिएनए टेस्ट सेवाका विज्ञ डा. आर्सी मौलेका अनुसार छिमेकी भारतमा दुई वर्षयता सुरू भएको डिएनए टेस्ट जीवनमै एकपटक मात्र गरिने परीक्षण रहेको जानकारी दिए ।
डा. मौलेका भनाइमा यो टेस्टमा १३१ प्रकारका परीक्षण हुने भएकाले मानव शरीरका लागि आवश्यक तत्व, वंशाणु परम्परागत रोग, भविष्यमा आउन सक्ने रोगका बारेमा ९९ दशमलव ९९ प्रतिशत विश्वासनीय रिर्पोट आउँछ ।
१६५ प्रकारका औषधी उपचारका क्रममा शरीरले स्वीकार्छ वा स्वीकार्दैन भन्ने तथ्यसमेत डिएनए टेस्टबाट पत्ता लाग्ने जानकारी दिँदै डा. मौलेले हरेक व्यक्तिले आफ्नो स्वास्थ्य र आयुको सही जानकारी लिनका लागि एकपटक परीक्षण गर्नै पर्ने सुझाव दिए ।