![](https://sajhamanch.com/wp-content/uploads/2024/08/writer-bishwa-adhikari.jpg)
झापा । बयोबृद्ध स्रष्टा विश्वप्रसाद अधिकारीद्वारा लिखित पाँचौं कृति भोजपुरदेखि झापासम्मको संस्मरण यात्रा नामक पुस्तक लोकार्पण गरिएको छ ।
गौरीगञ्ज गाउँपालिका वडा नं १ महाभाराका स्थायी बासिन्दा पूर्व शिक्षक ८७ वर्षीय स्रष्टा अधिकारीद्वारा लिखित सो पुस्तक दमकमा आयोजित औपचारिक कार्यक्रमबीच लोकार्पण गरिएको हो ।
३०० पृष्ठको उक्त पुस्तक दमक ५ स्थित दिपिनी आधारभूत विद्यालयको सभाकक्षमा झापा क्षेत्र नं ४ (क)बाट निर्वाचित कोशी प्रदेशसभा सदस्य राधाकृष्ण खनालको प्रमुख आतिथ्यमा लोकार्पण गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि खनाल, विशिष्ट अतिथि गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष पुजन न्यौपाने कुँवर, नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकका सभापति प्रकाश बुढथोकी, कमला मदन आश्रित माविका प्रधानाध्यापक हिम दाहाल, दिपिनी आधारभूतका प्रधानाध्यापक शेषकुमार निरौला, कृतिकार अधिकारी र उनकी धर्मपत्नी विमला अधिकारी लगायतले सो कृतिको लोकार्पण गरेका हुन् ।
लोकार्पण कार्यक्रमका वक्ताहरुले कृतिकारले सामाजिक, शैक्षिक जगतमा आफ्नो जिवन भोगाइका अनुभवहरु र प्राप्त उपलब्धि एवं सामाजिक योगदानका विषयलाई समेटेर प्रकाशनमा ल्याएको सो कृति समाजका नयाँ पुस्ताका लागि मार्गदर्शन बन्न सक्ने चर्चा गरे ।
सो अवसरमा कृतिकार अधिकारीले आफ्नो पारिवारिक पृष्ठभुमिबारे समेत जानकारी गराउँदै आफ्नो जीवनकालको अन्तिम कृतिका रुपमा भोजपुरदेखि झापासम्मको संस्मरण यात्रा पुस्तकलाई लिइदिन आग्रह गरे ।
ज्येष्ठ नागरिक जिल्ला संघ गौरीगञ्जको अध्यक्षसमेत भइसकेका उनको कृति लोकार्पणमा झापादेखि भोजपुरसम्मका स्रष्टाहरु एवं साहित्यीक व्यक्तित्वहरुको उपस्थिति थियो ।
गौरीगञ्ज १ महाभारास्थित बालकल्याण मावि अन्तर्गतको सामाजिक संंस्था विश्वप्रसाद अधिकारी प्रतिष्ठानले आयोजना गरेको सो कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश्वरप्रसाद राजवंशीले गरेका थिए ।
कार्यक्रममा बालकल्याणका प्रधानाध्यापक एवं प्रतिष्ठानका सचिव भिमप्रसाद कोइरालाले स्वागतसहित औचित्यबारे प्रष्ट्याएका थिए भने सञ्चालन स्रष्टा विवश बलिभद्र कोइरालाले गरेका थिए ।