२०८१ पौष २७, शनिवार , ०५:१५:०० बजे

Sajhamanch
'

अर्जुनधारामा पशुपंक्षी बास बगैंचाकालागि वृक्षारोपण

बिहिवार, साउन २४, २०८१

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा आज वृक्षारोपण गरिएको छ । विश्व भू–संरक्षण दिवसको अवसरमा आज अर्जुनधारा–१ स्थित हचुमासा सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गरिएको हो ।

वन परिसरभित्र प्रतिनिधिसभा उपसभामुख इन्दिरा राना, रौतहट–४ का सांसद देवप्रसाद तिम्सिना, अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देन, नेपाली सेनाका सहायक रथी युवधिरमानसिंह अधिकारी, अरिदमन गण चारआलीका गणपति प्राजु बस्नेत, हचुमासा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्रपसाद प्रसाईं, सचिव प्रभा नेपाल लगायतले वृक्षारोपण गरेका हुन् ।

अर्जुनधाराको ‘पशुपंक्षी बास–बगैंचा कार्यक्रम’ अन्तरगत नेपाली सेनाको अरिदमन गणले उपलब्ध गराएको अमला, तित्री, हर्रो, बर्रो र जामुनको बिरुवा रोपिएको छ ।

अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव गोम्देनलले सामुदायिक वनबाट निस्किने जंगली जनावर तथा चराचुरुङ्गीले आसपासका किसानले लगाएको बालीमा क्षति पुर्याउदै आएकाले सोको न्यूनीकरणका लागि सामुदायिक वनमा पशुपंक्षीमैत्री बिरुवा रोप्ने अभियान शुरु गरिएको बताए ।

“वनमा रहेका जनावर र पशुपंक्षी खानाको खोजीमा बस्ती पस्दा किसानलाई नोक्सान हुने गरेको छ”, उनले भने, “जनावर र पशुपंक्षी वनहाताभित्रै आहाराको व्यवस्थापन गर्ने उद्देश्यले यो कार्यक्रम गरिरहेका छौं, हामीलाई नेपाली सेनाको अरिदमन गणले सहयोग गरिरहेको छ, म उहाँहरुलाई धेरै धेरै धन्यवाद दिन्छु ।”

वृक्षारोपण कार्यक्रममा अर्जुनधारा–१ का वडाध्यक्ष उपेन्द्र बस्नेत, शान्ति सामुदायिक वनका उपाध्यक्ष लक्ष्मी कन्दंवा, इलाका प्रहरी कार्यालय अनारमनीका निरीक्षक नरेश लिम्बू लगायतको उपस्थिति रहेको थियो । वन समूहका अध्यक्ष चन्द्रप्रसाद प्रसाईको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत तथा सञ्चालन वनका सचिव प्रभा नेपालले गरेकी थिइन्।

अर्जुनधारा नगर क्षेत्रका सामुदायिक वनमा पाँच हजार बिरुवा रोप्ने लक्ष्य राखिएको छ । नगर क्षेत्रमा सात वटा सामुदायिक वन छन् । उपलब्ध भएका बिरुवा सकेसम्म सबैतिर वितरण गर्ने योजना रहेको जनाइएको छ ।

बिहिवार, साउन २४, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर