![](https://sajhamanch.com/wp-content/uploads/2024/08/SAHARA-NEPAL.gif)
झापा । वातावरणीयमा प्रदुषण बढेर स्वच्छ श्वास फेर्न पनि गाह्रो हुन थालेको सन्दर्भमा सहारा नेपालले चालू आर्थिक वर्षमा वृहत वृक्षारोपण परियोजना सञ्चालन गर्ने भएको छ ।
हरियालीको सिर्जना गरेर वातावरणलाई स्वच्छ पारी मानव स्वास्थ्यलाई प्रतिकूल असरबाट जोगाउने उद्देश्यसहित फलफूल खेतीबाट किसानलाई आत्मनिर्भर बनाउन परियोजना सुरु गर्न लागिएको सहारा नेपालका अधिकृत मात्रिका सुवेदीले बताएका छन् ।
तीनवटा प्रदेशका ११ वटा जिल्लामा बसोबास गर्ने किसानहरुसँग सहकार्य गरेर २ लाख ५० हजार वटा विरुवा रोप्ने तयारी भइरहेको हो । वृक्षारोपण गर्दा ६५ प्रतिशतभन्दा धेरै आँपका बिरुवा हुनेछन् भने बाँकी ३५ प्रतिशत हाराहारी विरुवाहरु कटहर, लिची र टिकका लगाइनेछ ।
परियोजनाका प्राविधिक डा. कमलेश्वर भाटका अनुसार सहारा नेपाल साकोसको कार्यक्षेत्र कोशी प्रदेशका चारवटा जिल्लाहरु झापा, मोरङ, सुनसरी र उदयपुरमा वृक्षारोपण कार्यक्रम सञ्चालन हुनेछ । यी जिल्लामा साकोसका सदस्यहरुलाई पहिलो प्राथमिकतामा राखेर जग्गा उपलब्ध गराउन भनी पत्राचार पनि भइसकेको छ ।
वृक्षारोपण परियोजनालाई मधेश प्रदेशका सिराहा, सप्तरी, धनुषा, महोत्तरी र पर्सा तथा सुदुरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा विस्तार गर्न लागिएको छ ।
‘परियोजना क्षेत्रमा न्यूनतम ५ कठ्ठा जग्गामा वृक्षारोपण गर्न चाहने किसानहरुको चयन गरेर सहारा नेपालले उनीहरुलाई निःशुल्क विरुवा उपलब्ध गराउने छ । यस्तो जमिन इच्छुक किसानको निजी हुनुपर्नेछ वा ऐलानी भए हकभोगको सरकारी निस्सा हुनुपर्नेछ । उक्त जमिनमा सहारा नेपालले उपलब्ध गराउने बोट बिरुवा रोप्नुपर्नेछ, स्याहार सम्भार गर्नुपर्नेछ, फलेपछि निजले इच्छाअनुसार उपभोग वा बिक्री वितरण गर्न पाउनेछ तर उक्त बोट कम्तीमा १० वर्षसम्म काट्न मास्न नपाइने परियोजनाको शर्त छ’ सहारा नेपालका निर्देशक लक्ष्मण खतिवडा बताउँछन् ।
सहारा नेपालले परियोजना सञ्चालनका लागि करिब ९०० विगाहा जमिन व्यवस्था गरी वृक्षारोपण गर्ने तयारी गरेको हो । सोही अनुरुप सुदुरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा २०० बिगाहा हाराहारी जग्गा व्यवस्थापन गरी यही साउन २४ गतेदेखि तालिम प्रदान गर्न लागिएको प्राविधिक डा. भाटले साझामञ्चलाई जानकारी दिए ।
‘कैलाली र कञ्चनपुरमा छानिएका किसानहरुलाई हामी साउन २४ गतेदेखि २९ गतेसम्म परियोजना र वृक्षारोपणसँग सम्बन्धित प्राविधिक तालिम दिँदैछौं’ डा. भाटले भने ‘सो पछिमात्र विरुवा वितरण गरिनेछ र हामीले निरन्तर यसको अनुगमन गर्नेछौं ।’
वृक्षारोपण गरिने जमिन रहेको पालिकासँग समेत समन्वय गरी भविष्यमा वृहत लक्ष्य राखेर सुरु गरिएको परियोजनाबाट जग्गा उपलब्ध गराउने किसान प्रतक्ष्य लाभान्वित हुनेछन् । सहारा नेपालले निःशुल्करुपमा बिरुवासहित प्राविधिक ज्ञान प्रदान गर्ने भएकाले जमिन बाँझो राखेर बसेका कतिपय किसानलाई पनि यसबाट प्रतक्ष्य लाभ पुग्ने बताइन्छ ।