२०८१ माघ ११, शुक्रवार , ०५:२८:०९ बजे

Sajhamanch
'

सडक डिभिजन दमकले गर्यो ३३ किमी सडक कालोपत्र

मङ्गलवार, साउन २२, २०८१

दमक । सडक डिभिजन दमकले गत आर्थिक वर्षमा ३३ किलोमिटर सडक कालोपत्र गरेको छ ।

सडक डिभिजनले ३७ किमी सडक कालोपत्र गर्ने लक्ष्य लिएको थियो । गत आवमा दुईवटा मोटरेबल पुल निर्माणको काम सम्पन्न भएको सडक डिभिजन दमकका सूचना अधिकारी इन्जिनियर गौतमकुमार देवले बताए ।

“राजमार्गका १४ किलोमिटर सडक आवधिक मर्मत र पाँच किमी राजमार्ग पुनःनिर्माण तथा स्तरोन्नति भएको छ”, उनले भने ।

जिल्लामा निर्वाचन क्षेत्र रणनीतिक सडकका लागि विनियोजित रु. २२ करोड ८५ लाख ५८ हजारमध्ये शतप्रतिशत खर्च भएको सडक डिभिजन दमकले जनाएको छ ।

दमक–चिसापानी सडकका लागि विनियोजित रु. छ करोडमध्ये रु. दुई करोड ५० लाखमात्र खर्च भएको बताइएको छ ।

यसैगरी, राजमार्ग स्तरोन्नति तथा पुनःस्थापना कार्यक्रमका लागि विनियोजित रु. ११ करोड ५५ लाख ५५ हजारमध्ये रु. नौ करोड ७५ लाख ६६ हजार खर्च भएको छ ।

त्यस्तै, स्थानीय सडक पुल निर्माण शीर्षकको बजेट खर्च प्रतिशत ९८ दशमलव ४८ प्रतिशत, रणनीतिक सडक पुल निर्माण तथा पुलपुलेसा संरक्षण शीर्षकको बजेट खर्च प्रतिशत ८९ दशमलव ९० प्रतिशत र सडक बोर्डको बजेटको ९० दशमलव ९९ प्रतिशत खर्च भएको छ ।

सूचना अधिकारी देवका अनुुसार गत आवमा पुँजीगततर्फ कूल विनियोजित बजेटको ८९ दशमलव ६२ प्रतिशत खर्च भएको छ । आर्थिक वर्ष २०७९/८० मा समग्र बजेटको ७४ दशमलव ५४ प्रतिशत खर्च भएको थियो ।

सम्बन्धित खबर