
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निर्माणाधीन काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्टट्रयाक) सडक आयोजना अन्तर्गत विभिन्न स्थानहरूको स्थलगत निरीक्षण अवलोकन गर्ने भएका छन् ।
प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंकाअनुसार प्रधानमन्त्री सोमबार हेटौँडासम्म पुग्ने कार्यक्रम रहेको छ । ओलीले अनुगमनका क्रममा निर्माणाधीन सुरुङ, सडक तथा पुलहरूको निरीक्षण गर्ने कार्यक्रम छ।
त्यसका लागि प्रधानमन्त्रीसहितको टोली त्यसतर्फ जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीका साथमा रक्षामन्त्री मानवीर राई, प्रधानसेनापति प्रभुराम शर्मा लगायतका विशिष्ट व्यक्तिको सहभागिता रहने छ ।