मेचीनगर । मेचीनगरका सामुदायिक विद्यालयमा स्तनपान कक्ष, खाजा घर, शौचालय, खानेपानी लगायत पूर्वाधार नहुँदा झेल्नुपरेका समस्याबारे छलफल भएको छ ।
नगरमा सञ्चालित विभिन्न सामुदायिक विद्यालयमा कार्यरत महिला प्रधानाध्यापक, शिक्षिका र बालकक्षामा कार्यरत शिक्षिकाहरुले नगरपालिकाको नेतृत्वसमक्ष उक्त समस्या राखेका हुन् ।
नगरपालिकाको कार्यपालिका बैठक कक्षमा भएको छलफलमा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना उप्रेती र शिक्षा शाखा प्रमुख एवं उपसचिव होमनाथ भण्डारीसमक्ष उनीहरुले प्रत्येक सामुदायिक विद्यालयले प्रायः उस्तै प्रकृतिका समस्या भोग्नुपरिरहेको बताए ।
छलफलका क्रममा बालकक्षामा कार्यरत शिक्षिकालाई फरक दृष्टिकोणले हेर्ने गरिएको, हरेक विद्यालयमा शिक्षक र विद्यार्थीका लागि छुट्टाछुट्टै सुविधायुक्त शौचालय नभएको लगायत समस्या सुनाएका छन् ।
अधिकांश विद्यालयमा व्यवस्थित शौचालय नहुँदा विशेष गरी शिक्षिका र छात्रालाई असहज हुने गरेको साझा समस्या वक्ताहरुले राखेका थिए ।
उनीहरुले पछिल्लो समय लागूऔषधको समस्याले विकराल रुप लिइरहेको जानकारी गराउँदै कतिपयले लागूऔषध सेवन गरी विद्यालय आउँदा आफूहरु असुरक्षित बन्नुपरेको पीडा पोखेका थिए ।
बजेट विनियोजनका क्रममा स्थानीय सरकारले महिला प्रधानाध्यापक भएका विद्यालयलाई प्राथमिकता दिन समेत सहभागीहरुले नगर नेतृत्वसमक्ष अनुरोध गरेका थिए । विद्यालयको अनुगमन गरेर मात्र टिनको छानोदेखि अन्य संरचना प्रदान गर्न समेत उनीहरुको सुझाव थियो ।
कतिपय विद्यालयका कर्मचारीहरुले महिला शिक्षकलाई बेवास्ता गर्ने गरेका गुनासो समेत उनीहरुले सुनाएका थिए ।
‘धेरैजसो विद्यालयमा स्तनपान कक्ष छैन’ मेचीनगर-९ स्थित कविशिरोमणि माविकी शिक्षिका निलु शर्माले भनिन्, ‘आमा शिक्षिकाहरु आफ्ना बच्चाहरुलाई स्तनपान गराउन घरै जानुपर्छ, त्यसपछि विरोध हुन्छ, विरोध गर्नेमा शिक्षकहरु हुनुहुन्छ ।’
तीनमहिना सुत्केरी विदा दिए पनि त्यसपछि आफ्ना बच्चाहरु च्यापेर विद्यालय आउनुपर्ने अवस्था रहेको भन्दै उनले हरेक विद्यालयमा सुविधायुक्त अलग्गै स्तनपान कक्षको व्यवस्था मिलाइदिन उपप्रमुख उप्रेतीलाई आग्रह गरिन् ।
मेचीनगर—१ स्थित बाल विकास आधारभूत विद्यालयकी शिक्षिका फडिन्द्रा पौडेलले अझै पनि थुप्रै विद्यालयको छानाले घाम र पानी नछेक्ने भएकाले बर्खाका बेला कहिलेकाहीं विद्यार्थीको भागाभाग हुने गरेको सुनाइन् ।
धेरैजसो विद्यालय भवनका झ्याल र ढोका जीर्ण भएका, पिउने पानीका धारादेखि थुप्रै सामग्री चोरी हुने गरेका, शौचालयका झ्याल र ढोका फोडिने समस्या रहेको उनको भनाई थियो ।
ग्रामीण क्षेत्रमा सञ्चालित विद्यालयमा पढिरहेका विद्यार्थीहरुको आर्थिक अवस्था दयनिय भएकैले प्रायः गयल हुने हुँदा विद्यालयले सोचे अनुरुपको नतिजा नआउने गरेको उनको भनाई थियो ।
समस्या राख्ने क्रममा अधिकांशले महिनावारी भएका बेला छात्राहरुले बढी कष्ट व्यहोर्नुपरेको पीडा व्यक्त गरेका थिए ।
स्थानीय सरकारले उनीहरुलाई लक्षित गरेर सेनिटरी प्याडको व्यवस्था गरे पनि परिवर्तन गर्ने कोठा (चेञ्जिङ रुम) को उचित व्यवस्थापन नहुँदा समस्या हुने गरेको सहभागीहरुको धारणा थियो ।
विद्यालयलाई अझै प्रविधिमैत्री बनाउन नसकिएको, प्रविधि भए पनि दक्ष प्राविधिक विषय विज्ञको अभाव भएको, महिलाहरुलाई प्रविधिमैत्री बनाउन नसकिएको, दिवा खाजाका लागि पर्याप्त रकम नपाएको, दिवा खाजा खान अलग्गै कोठाको व्यवस्था नभएको, फरक क्षमता भएका विद्यार्थीका लागि उनीहरुको माग अनुसारका स्रोत र साधन नभएको, हरेक विद्यालयमा मनोपरामर्शदाताको व्यवस्था नभएको, बालकक्षामा कार्यरत शिक्षिकाहरु पछि रित्तै हात घर जानुपर्ने बाध्यता रहेको लगायत समस्या सहभागीहरुले राखेका थिए ।
सहभागीहरुका समस्या सुनेपछि नगर उपप्रमुख उप्रेती र शिक्षा शाखा प्रमुख भण्डारीले हरेक समस्या क्रमशः समाधान गर्न सकिने स्पष्ट पार्दै कतिपय कार्यान्वयनको चरणमा रहेको बताए ।
त्यस्तै, शिक्षा शाखा प्रमुख भण्डारीले स्थानीय सरकारले अहिलेसम्म शिक्षामा गरेको प्रगति र लगानीका विषयमा प्रष्ट पारे ।
छलफलमा मेनपा-२ स्थित भानु माविकी प्रधानाध्यापक खड्गकुमारी तिम्सिना, मेनपा-४ स्थित दिपेन्द्र प्राविकी प्रधानाध्यापक शान्ता निरौला, मेनपा-१५ स्थित ज्ञानदीप प्राविकी प्रधानाध्यापक अञ्जु पौडेल लगायत ३१ जनाको सहभागिता थियो ।
उक्त छलफलको सहजीकरण मेनपा-४ स्थित सरस्वती माविकी शिक्षिका नमूना निरौलाले गरेकी थिइन् ।