२०८१ कार्तिक १०, शनिवार , ०३:०५:३१ बजे

Sajhamanch
'

अलैँचीको मूल्य बढेसँगै बिरुवाको माग बढ्यो

आइतवार, साउन २०, २०८१

इलाम । इलामको फिक्कलस्थित अलैँची विकास केन्द्रले बितेको वर्ष अलैँचीका एक लाख २८ हजार ५६० बिरुवा बिक्री गरेको छ ।

प्रतिगोटा पाँच रुपैयाँले ६ लाख ४२ हजार मूल्य बराबरको बिरुवा बिक्री गरेको केन्द्रले जनाएको हो । देशभरबाट तीन लाख बिरुवाको माग आएको तर, पूरा गर्न नसकिएको केन्द्र प्रमुख राजन परियारले बताए ।

केन्द्रबाट यो वर्ष ताप्लेजुङ, पाँचथरसहित देशका पश्चिमी जिल्लामा अलैँचीका बिरुवा लगिएका छन् । केन्द्रले रामसाही र गोलसाही जातका अलैँचीका बिरुवा उत्पादन गरी बेचेको परियारले जानकारी दिए ।

अलैँची खेती विस्तारका लागि बिरुवाको माग बढेपछि केन्द्रले यो आर्थिक वर्षदेखि विभिन्न १० जिल्लामा अलैँचीका ४० नर्सरी राख्ने र बिरुवा उत्पादन गर्ने कार्यक्रम सुरु गरेको छ ।

पछिल्लो समय अलैँची (फल) को उच्च मूल्यमा कारोबार भएपछि किसानले अहिले बिरुवा रोप्ने र खेती विस्तार गर्ने काम गरिरहेका छन् । अलैँची अहिले ८५ हजार रुपैयाँ प्रतिमनले कारोबार भइरहेको छ ।

गएको आर्थिक वर्ष २०८०।०८१ मा सात अर्ब ९४ करोड नौ लाख ६५ हजार मूल्यको अलैँची निर्यात भएको केन्द्रले जनाएको छ । देशको १७ हजार चार हेक्टरमा अलैँची खेती भएको जनाइएको छ ।

सम्बन्धित खबर