शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले नगर गौरवको आयोजनाको रुपमा सञ्चालन गरेको दूधे रंगशालामा प्यारापिट निर्माणको कार्य अन्तिम चरणमा पुर्याइएको छ ।
नगरपालिकाले गएको चैत्र महिनादेखि प्यारापिट निर्माणको लागि काम सुरु गरेको हो । हालसम्म अघिल्लो आर्थिक वर्षमा ठेक्का लागेको काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।
शिवसताक्षी नगरपालिकाले खेलमैदान साथै प्यारापिटको काम पनि एकैपटक अघि सारेको थियो । २०७४ सालमा गुरुयोजना तयार गरेपछि नगरपालिका रंगशाला निर्माणमा जुटेको हो ।
शिवसताक्षी नगरपालिका वडा न. ११ दूधोमा ६ विगाह १५ कठ्ठा जग्गामा रंगशाला निर्माण भइरहेको हो । जसमा कम्पाउण्ड वाल र गेट यसअघि नै निर्माण भइसकेको नगरपालिकाले जनाएको छ । आर्थिक वर्ष २०८०÷८१ मा प्यारापिटको निर्माण गर्न सुरु गरेको हो ।
हाल निर्माणाधिन प्यारापिटको माथिल्लो तला निर्माण गरी स्टेजमा ट्रस र छानो लगाइने नगरप्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिए । निर्माणधिन प्यारापिट ३० मिटर लम्बाई र ७ मिटर हाइटको स्टेजसहितको हुनेछ । यसको काम अन्तिम चरणमा रहेको नगरप्रमुख थोप्राले बताए । उनले भने, ‘चालु आर्थिक वर्षमा थप प्यारापिट निर्माणका काम पनि सुरु हुनेछ । नगरपालिकाको श्रोत कमजोर हुँदा एकैपटक प्यारापिट निर्माण गर्न सम्भव भएको छैन ।’
हाल निर्माण भइरहेको प्यारापिट भ्याटसहिक ६९ लाख ६१ हजाजर २९१ रुपैयाँको लागतमा निर्माण सुरु गरिएको नगरपालिकाले जनाएको छ । हाल बनाइँदै गरेको प्यारापिटमा करिब ४०० दर्शकहरुले बसेर खेलकुदको मनोरञ्जन लिन मिल्ने गरी निर्माण भइरहेको नगरपालिका इन्जिनियर उत्तम बरालले जानकारी दिए ।
उनले खेल मैदानका आधारमा पूर्वकै राम्रो ठूलो खेल मैदान भएको दावी गरेका छन् । इभान्सी निर्माण सेवा कनकाईले प्यारापिट निर्माणको जिम्मा पाएको हो नगरपालिकाले दिएको मापदण्ड अनुसार प्यारापिट निर्माण गरिँदै आएको इभान्सी निर्माण सेवाका प्रोपराइटर रमेश खरेलले बताएका छन् ।
रंगशालामा प्यारापिट पूर्णरुपमा निर्माण कार्य सकिए पछि २५ हजार दर्शकले एकै साथमा फुटबल लगायतका मेला हेर्न मिल्ने बताइएको छ ।