२०८१ पौष २०, शनिवार , १०:४५:४७ बजे

Sajhamanch
'

सञ्जिवनीमा वार्षिक समीक्षा गोष्ठी : १० वटा वार्षिक कार्यक्रम सार्वजनिक, कर्मचारी विदाई र पुरस्कृत

शनिवार, साउन १९, २०८१

बिर्तामोड । बिर्तामोड–४ मा प्रधान कार्यालय रहेको सञ्जिवनी बचत तथा ऋण सहकारी संस्थाले एक वर्षमा सञ्चालन गरिने १० वटा कार्यक्रम सार्वजनिक गरेको छ ।

संस्थाले शनिबार बिर्तामोडमा आयोजना गरेको एक दिवशीय समीक्षा गोष्ठीमा चालु आर्थिक वर्ष २०८१–०८२ मा गर्ने १० वटा विभिन्न कार्यक्रम सार्वजनिक गरेको हो ।

वार्षिक कार्यक्रम अन्तर्गत प्रत्येक महिनाको दोस्रो शनिबार मासिक बैठक, साउन १९ गते वार्षिक समीक्षा, भदौ १० गते सहकारी शिक्षा, असोज १२ गते साधारण सभा, कात्तिक २२ देखि २८ गतेसम्म सहकारी भ्रमणका कार्यक्रम हुनेछन् ।

२०८१ साउन १ देखि २०८२ असार मसान्तसम्म हुने कार्यक्रमहरुमा कात्तिक २७ गते वार्षिक उत्सव, स्वास्थ्य गोष्ठि र रक्तदान, मंसिर ३० गते वनभोज, माघ १६ गते अर्धवार्षिक समीक्षा, फागुन ७ गते सहकारी शिक्षा, चैत २२ देखि २८ गतेसम्म सहकारी भ्रमण र जेठ १७ गते सहकारी शिक्षा कार्यक्रम रहेका छन् ।

त्यसक्रममा उक्त साकोसका अध्यक्ष यामकुमार चुडालले संस्थाको आर्थिक वर्ष २०८०–०८१ को वित्तीय अवस्थाको अवगत गराए ।

प्रत्येक ६ महिनामा गर्दै आइएको समीक्षा गोष्ठी संस्थाको आगामी रणनीतिक योजना तय गर्न र कार्यान्वयनको पाटोलाई प्रभावकारी बनाउन महत्वपूर्ण हुने उनले बताए ।

कार्यक्रममा अध्यक्ष चुडालले बजारको वर्तमान अवस्था, उत्पन्न चुनौति, चुनौति सामना गर्न बनाइएको रणनीति, संस्थाले गर्ने लगानी लगायत विषय प्रस्ट्याएका थिए ।

‘संस्थाको जिम्मेवारीमा रहेका सबैले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पूरा गरेमा आइलाग्ने जस्तासुकै संकट सहजै टार्न सकिन्छ’, मन्तव्यका क्रममा उनले भने ।

संस्थाको १६ औं वार्षिक साधारण सभामा प्रस्तुत प्रतिवेदन वाचन गर्दै अध्यक्ष चुडालले संस्थाको भावी लक्ष्य र कार्यक्रमबारे जानकारी गराए ।

संस्थामा बचत तथा ऋण कारोबारको स्थिति सन्तोषजनक रहेको बताउँदै उनले भने, ‘सबै आर्थिक सूचक लक्ष्य नजिक रहेको संस्थाको वित्तीय अभिलेखले पुष्टि गरेको छ ।’

संस्थाले पेन्सन सदस्य वृद्धिको कार्यक्रमलाई जोड दिएको जानकारी दिँदै अध्यक्ष चुडालले पेन्सन सदस्य थपिने क्रम बढ्दो क्रममा रहेको बताए ।


संस्था सञ्चालक समितिका पदाधिकारी एवं सदस्य र कर्मचारीहरु सहभागी गोष्ठीमा सहभागीबाट उठेका विभिन्न जिज्ञासा अध्यक्ष चुडालले प्रस्ट्याएका थिए ।

सोही अवसरमा संस्थाले उमेर हदका कारण अवकाश पाएका कर्मचारी तोशलकुमार दाहाललाई अविर पहिर्याउँदै दोसल्ला ओढाएर मायाको चिनोसहित विदाई गरेको छ ।

संस्थाको चन्द्रगढी सेवा केन्द्रमा शाखा प्रमुखको जिम्मेवारी वहन गर्ने क्रममा सेवा निवृत्त भएका उनलाई संस्थाले विदाई गरेको हो । त्यस्तै, संस्थाले सर्वाधिक बचत संकलन गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय अनुसार रोमन शिवाकोटी पुरस्कृत भएका छन् ।

वार्षिक ४ करोड रुपैयाँ बढी बचत संकलन गरेका उनलाई संस्थाका अध्यक्ष चुडाल लगायतले नगदराशी ५ हजार रुपैयाँसहित पुरस्कृत गरेका हुन् ।

संस्थाबाट सेवा निवृत्त भएका दाहाल र पुरस्कृत शिवाकोटीले अनुभूति मन्तव्य राखेको कार्यक्रमको सहजीकरण संस्थाका उपाध्यक्ष दिनेशकुमार सुवेदीले गरेका थिए ।

सम्बन्धित खबर