२०८१ पौष २१, आइतवार , ०६:०४:३४ बजे

Sajhamanch
'

मुद्रा बनाउन जापानमा माग बढेसँगै इलाममा अर्गेली खेती विस्तार

शुक्रवार, साउन १८, २०८१

इलाम । जापानको मुद्रा बनाउन प्रयोग हुने कच्चापदार्थ अर्गेली खेतीमा किसानको आकर्षण बढेको छ ।

नेपाली कागज जापान निर्यात बढेपछि इलाममा अर्गेली खेती विस्तारमा प्रदेश सरकारको लगानी पनि बढेको छ । लेकाली क्षेत्रका डाँडापाखामा अर्गेली खेती हुन्छ । नेपाली कागज बनाउन प्रयोग हुने अर्गेलीको माग जापानमा बढेपछि खेती विस्तार हुन थालेको हो ।

अर्गेली जापान निर्यातले गाउँमा प्रशोधन उद्योग पनि खुल्ने क्रम बढेको छ । लोप हुन लागेको अर्गेलीको व्यावसायिक खेती विस्तार भएपछि अहिले इलाममा प्रशोधन समेत हुन थालेको छ ।

जापनिज यान बनाउन प्रयोग हुने अर्गेलीको निर्यात बढेपछि किसानले पाखाबारीमा खेती विस्तार गर्न थालेका छन् । अर्गेली रोपिएको ४ वर्षमा आम्दानी लिन सकिन्छ ।

एक पटक रोपेपछि फेरि रोप्नु नपर्ने भएकाले किसानले खाद्यबाली नहुने क्षेत्रमा अर्गेली खेती विस्तार गर्दै आएको सन्दकपुर–२ का अमृत राईले बताए । चिसो मौसम र हावापानी भएका क्षेत्रको कान्ला र पाखो बारीमा अर्गेली खेती विस्तार हुँदै आएको छ ।

अर्गेली रोपिएको चार वर्षपछि प्रशोधन गर्न काटिन्छ र सोही बोटबाट पुनः पलाउने गर्छ । लेकाली क्षेत्रमा गाई वस्तुको सोतर ओछ्याउन प्रयोग हुने अर्गेली जापान निर्यात बढेपछि प्रदेश सरकारले पनि लगानी सुरु गरेको छ ।

कोशी प्रदेश सरकारको डिभिजन वन कार्यालय इलामले अर्गेली खेती विस्तारमा अनुदान समेत प्रदान गर्दै आएको डिभिजन प्रमुख दानबहादुर श्रेष्ठले बताए । इलामबाट वार्षिक १ लाख किलो प्रशोधित अर्गेली जापान निर्यात हुने गरेको छ ।

अर्गेली प्रशोधनका लागि हाते कागज उद्योग गाउँमा स्थापना भएपछि ग्रामीण क्षेत्रमा रोजगारीको अवसर पनि थपिएको छ ।

सम्बन्धित खबर