२०८१ कार्तिक १०, शनिवार , ०७:०३:०२ बजे

Sajhamanch
'

बयान फेरेको भन्दै साक्षीलाई नै भ्रष्टाचार मुद्दा

शुक्रवार, साउन १८, २०८१

काठमाडौं । अदालतमा गएर बयान फेरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बयान फेरेको आरोपमा अख्तियारले शुक्रबार पोखराका केशरीप्रसाद तिवारी र उर्मिला पौडेलमाथि विशेष अदालतमा मुद्दा दायर गरेको हो । रंगेहात घुसको मुद्दामा अदालतमा साक्षीको रुपमा पेश गरिएका उनीहरुले बयान फेरेपछि उनीहरुमाथि पनि अख्तियारले मुद्दा चलाएको हो ।

अख्तियारले २० वैशाख, २०८१ मा पोखरा महानगरपालिकाका दुई इञ्जिनियरसहित ३ जनामाथि घुस लेनदेन गरेको आरोपमा भ्रष्टाचारमुद्दा दायर गरेको थियो ।

अख्तियारले महानगरको नक्सा शाखामा कार्यरत सव–इञ्जिनियर उषाकिरण रोकाया, इञ्जिनियर शिवप्रसाद बराल र गोदार कन्सल्टेन्सीका सुरज कुँवर विरुद्ध मुद्दा दायर गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गण्डकी प्रदेश कार्यालय पोखराबाट खटिएको टोलीले रोकाया र कुँवरलाई सेवाग्राहीसँग घुस लिँदै गर्दा चैत २८ गते पक्राउ गरेको थियो भने अनुसन्धानका आधारमा संलग्नता देखिएपछि इञ्जिनियर बराल वैशाख ४ गते पक्राउ परेका थिए ।

त्यही घटनामा संलग्न भएपछि अख्तियारले केशवप्रसाद तिवारी र उर्मिला पौडेललाई मुद्दा नचलाई सरकारी साक्षीको रुपमा अदालतमा पेश गरेको थियो । तर, विशेष अदालतमा उपस्थित भएका उनीहरुले उल्टो बकपत्र गरेको भनी उनीहरुमाथि समेत मुद्दा चलाएको हो ।

सरकारी साक्षीले उल्टो बकपत्र गरेमा वा अख्तियारको प्रतिकूलमा बकपत्र गरेमा उसलाई दिएको सजाय छुटको मागदावी उल्ट्याएर मुद्दा चलाउने अभ्यास छ । अब उनीहरुले पनि भ्रष्टाचारको आरोप सामना गर्नुपर्नेछ ।

सम्बन्धित खबर