काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले जनताको स्वास्थ्यमाथि खेलबाड नगर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले सो निर्देशन दिएका हुन् ।
मन्त्री अधिकारीले खाद्य स्वच्छता तथा गुणस्तरको विषय संघीय सरकारसँग जोडिएकाले यसमा स्थानीय तहले गर्ने काममा मात्रै भर पर्न नहुने भन्दैसम्बन्धित निकायलाई सचेत गराए ।
खाद्य स्वच्छता र गुणस्तरको प्रश्नले मन्त्री, सचिव लगायत कृषि मन्त्रालयलाई गाँज्ने गरेको उल्लेख गर्दै उनले त्यसको चित्तबुझ्दो जवाफ दिनुपर्ने आवश्यकता पनि औँल्याए ।
मन्त्री अधिकारीले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी ऐन कार्यान्वयनमा केन्द्रित हुन पनि मातहतका सबै निकायको ध्यानाकर्षण गराए । उनले जनतामा विश्वास जगाउनेगरी परिणाममुखी काम गर्न मन्त्रालयका अधिकारीहरूले विशेष पहल गर्नुपर्ने बताए ।