२०८१ पौष २७, शनिवार , ०१:४२:४१ बजे

Sajhamanch
'

बिर्ताबजारमा पनि सुरु भयो सामुदायिक तरकारी बिक्री केन्द्र

शुक्रवार, साउन १८, २०८१

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले सुरु गरेको सामुदायिक तरकारी बिक्री केन्द्र सञ्चालनको क्रममा बिहीबार बिर्ताबजारमा थप बिक्रीकेन्द्र सुरु गरिएको छ ।

बिर्तामोड वडा नम्बर ३ बिर्ताबजारमा सामुदायिक तरकारी बिक्री केन्द्रको उद्घाटन गरेसंगै अब नगर क्षेत्रमा ६ स्थानमा यस्ता पसल भएका हुन् ।

‘पारीको होइन बारीको खाउँ’ कार्यक्रम अन्तर्गत ६ वटा तरकारी बिक्री केन्द्र सञ्चालनमा ल्याइएको हो । कार्यक्रम अन्तर्गत अब ४ वटा संकलन तथा बिक्री केन्द्र औपचारिकरुपमा सञ्चालनमा आउन बाँकी छ ।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोडलाई विषादीमुक्त नगरकोरुपमा अघि बढाउन यस्तो कार्यक्रम ल्याइएको बताइन् । उनले राम्रो र अर्गानिक तरकारी उत्पादन गर्ने कृषकलाई नगरपालिकाबाट पुरस्कृत गर्ने गरी कार्ययोजना अघि बढाउने बताउँदै यस कार्यमा लाग्न सबैलाई आग्रह गरिन् ।

बिहीबारको कार्यक्रममा वडा नम्बर ३ का वडाअध्यक्ष मदन बुढाथोकीले किसानले उत्पादन गरेको तरकारीको बजारीकरण महत्वपूर्ण रहेको र यसलाई कुनै पनि अवस्थामा रोकिन दिन नहुने प्रष्ट पारेका थिए । बिर्तामोड माछामा आत्मनिर्भर रहेको भन्दै उनले अन्य कृषिजन्य वस्तुको स्थानीय उत्पादनमा जोड दिएका थिए ।

सो कार्यक्रममा नगरपालिकाका आर्थिक विकास समिति संयोजक संगीता शिवा, कृषि विकास शाखा प्रमुख राजेन्द्र कडरिया लगायतले सो सम्बन्धी धारणा राखेका थिए ।

बिर्ताबजार सामुदायिक तरकारी बिक्री केन्द्र सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद बाँस्कोटाको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, नगर कार्यपालिका सदस्य सिता ढुंगाना लगायत विभिन्न वडाका जनप्रतिनिधि, किसान तथा उभोक्ताको सहभागिता थियो ।

सम्बन्धित खबर