२०८१ पौष १३, शनिवार , ०७:३८:४९ बजे

Sajhamanch
'

किर्ते दस्तखत गरी रकम झिक्ने विद्यालय सहयोगी पक्राउ

बिहिवार, साउन १७, २०८१

मेचीनगर । काँकरभिट्टा माध्यमिक विद्यालयको बैंक खाताबाट किर्ते दस्तखतका आधारमा चेक साटेर रु. चार लाख १८ हजार झिकेको आरोपमा विद्यालयकै कार्यालय सहयोगी रोशन मल्लिक पक्राउ परेका छन् ।

मेचीनगर–६ निवासी मल्लिकले नेपाल बैंक लिमिटेड काँकरभिट्टाबाट २० पटक चेक साटेर उक्त रकम निकालेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक कृष्णकुमार पोखरेलले बताए ।

विद्यालयको बैंक खाता प्रधानाध्यापक हरिप्रसाद न्यौपाने र लेखापाल विष्णुलाल पाण्डेको संयुक्त हस्ताक्षरमा सञ्चालन हुँदै आएको थियो । तर, विद्यालयले बैंकबाट नियमित रकम भुक्तानी लिने र चेकबुक लिने काममा कार्यालय सहयोगी मल्लिकलाई खटाउने गरेको थियो ।

विद्यालयले विद्यार्थी बोक्ने बस किन्नका लागि बैंकमा रहेको रकम जाँचबुझ गर्दा मल्लिकले बैंकबाट अनधिकृत रूपमा रकम निकाल्ने गरेको खुलेको छ ।

घटनाबारे थाहा पाएपछि यही साउन १३ गते इलाका प्रहरी कार्यालय काँकरभिट्टामा उजुरी दिएको सहायक प्रधानाध्यापक मदन अधिकारीले जानकारी दिए । प्रहरीले सोही दिन मल्लिकलाई पक्राउ गरी अनुसन्धान थालेको थियो ।

हाल अभियोग लागेका मल्लिकलाई म्याद थपेर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पोखरेलले बताए ।

बैंकबाट चेकबुक निकालेर ल्याउँदा चेकका केही पाना लुकाएर राख्ने गरेका मल्लिकले २०८० साउन ७ गते यता एक वर्षमा २० पटक किर्ते हस्ताक्षर गरेर रकम निकालेको खुलेको छ ।

मल्लिकले प्रधानाध्यापक र लेखापाल दुवैको किर्ते हस्ताक्षर गरेको पाइएको छ । मल्लिकले विद्यालयका शिक्षक, विद्यालयसँग कारोबार भएका व्यवसायी र आफ्नै नाममा अनधिकृत रूपमा चेक काट्ने गरेका थिए ।

सम्बन्धित खबर