२०८१ माघ ३, बिहिवार , ०३:४८:४८ बजे

Sajhamanch
'

पेरिस ओलम्पिकमा प्रिन्स दाहाल लगातार तेस्रो खेलमा पराजित

बुधवार, साउन १६, २०८१

झापा । नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पेरिस ओलम्पिकमा समूह चरणको तीन वटै खेलमा पराजित भएका छन् । आज भएको समूह ‘पी’ को पुरुष एकलतर्फ प्रिन्स इजरायलका मिसा जिलबरमनसँग २१–१२ र २१–१० ले पराजित भए । प्रिन्स विश्व वरीयताको १७२ औँ र इजरायलका जिलबरमन ५८ औँ स्थानमा छन् ।

यसअघि प्रिन्स समूह चरणको पहिलो खेलमा विश्व वरीयताको शीर्ष दुईमा रहेका डनेमार्कका भिक्टर एक्सेल्सेनसँग र दोस्रो खेलमा विश्व वरीयताको ४३ औँ स्थानमा रहेका आयरल्यान्डका हात गुयेनसँग पराजित भएका थिए । नेपालले पहिलो पटक ओलम्पिकमा ब्याडमिन्टनतर्फ सहभागिता जनाएको हो ।

पेरिस ओलम्पिक २०२४ मा नेपालबाट सात जना खेलाडी सहभागी भएकामा पाँच जनाको खेल सकिइसकेको छ । पौडीका एलेक्जेन्डर शाहले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गर्नुबाहेक पाँचै खेलाडी पहिलो चरणबाटै बाहिरिए ।

अब नेपालबाट एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठको स्पर्धा बाँकी छ । सन्तोषीले अन्तिम दिन अगस्ट ११ मा महिला म्याराथनमा प्रतिस्पर्धा गर्नेछिन् ।