२०८१ माघ ३, बिहिवार , ०६:३५:४७ बजे

Sajhamanch
'

पेरिस ओलम्पिकमा प्रिन्स दाहालले आज समूह चरणको अन्तिम खेल खेल्दै

बुधवार, साउन १६, २०८१

झापा । नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले फ्रान्समा भइरहेको पेरिस ओलम्पिकमा आज समूह चरणको अन्तिम खेल खेल्दैछन् । समूह ‘पी’ मा रहेका प्रिन्सले इजरायलका मिसा जिलबरमनसँग आज खेल्ने भएका हुन् । यसअघि समूहको दुवै खेलमा पराजित भएका प्रिन्सका लागि आजको खेलको प्रतिष्ठाको खेलसमेत हुनेछ ।

प्रिन्स विश्व वरीयताको १७२ औँ स्थानमा छन् भने मिसा ५८ औँ स्थानमा छन् । यसअघि प्रिन्स भिक्टर एक्सेलसन र नहाट एन्ग्वेनसँग २–० ले पराजित भएका थिए । नेपालले पहिलो पटक ओलम्पिकमा ब्याडमिन्टनमा सहभागिता जनाएको हो ।

पेरिस २०२४ मा नेपालबाट ७ खेलाडी सहभागी भएकोमा ५ खेलाडीको खेल सकिसकेको छ । पौडीका एलेक्जेन्डर शाहले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गर्नुबाहेक पाँचै खेलाडी पहिलो चरणबाटै बाहिरिए ।

अब प्रिन्स बाहेक एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठको स्पर्धा बाँकी छ । सन्तोषीले अन्तिम दिन अगस्ट ११ मा महिला म्यारथनमा प्रतिस्पर्धा गर्नेछिन् ।