बिर्तामोड । नेपाल महिला संघ झापाले झापाका पाँचवटै क्षेत्रमा क्षेत्रस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
नेपाल महिला संघ झापा अध्यक्ष टिकादेवी सिटौला (मैनाली) को अध्यक्षता र नेपाली कांग्रेस झापाका कार्यवाहक सभापति केशवराज पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले सो निर्णय गरेको हो ।
संघकी सचिव उर्मिला ढकाल (पोखरेल) का अनुसार भदौ २ गते क्षेत्र नं–१ मा, भदौ ४ गते क्षेत्र नं–२ मा, भदौ ५ गते क्षेत्र नं–३ मा, भदौ ६ गते क्षेत्र नं–४ मा र भदौ ७ गते क्षेत्र नं–५ मा क्षेत्रस्तरीय प्रशिक्षण सञ्चालन गर्ने निर्णय भएको छ ।
महिलाहरुको नेतृत्व विकास, महिला अधिकारसम्बन्धी कानूनी व्यवस्था, नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास र महिला संघ लगायतका विषयमा दिइने प्रशिक्षणमा महिला संघका वडा, गाउँ/नगर, क्षेत्रका पदाधिकारी एवं सम्बन्धित क्षेत्रका जिल्ला पदाधिकारी एवं सदस्यलाई सहभागी गराउने लक्ष्य लिइएको अध्यक्ष मैनालीले बताइन् ।
बैठकले आगामी साउन २४ गते महिला संघको ७७ औं स्थापना दिवस पालिका तहमा विविध रचनात्मक कार्यक्रम गरी मनाउने निर्णय गरेको छ ।
महिला संघका गाउँ/नगर, क्षेत्रीय सभापतिहरु सहभागी बैठकमा संघका संस्थापक अध्यक्ष मंगलादेवी सिंहको फोटो गाउँ/नगर समितिलाई प्रदान गरिएको थियो ।
१५ वटै पालिकालाई अध्यक्ष मैनालीबाट सौजन्यस्वरुप प्रदान गरिएको उक्त फोटो मैनाली र प्रमुख अतिथि पाण्डेले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।