काठमाडौं । मोडल दुर्गेश थापा भिन्न शैलीको गायनले चर्चित छन् । गीत र अभिव्यक्तिले उनी बेलाबेलामा चर्चामा आइरहन्छन् । ‘एडल्ट’ टाइपको शब्द र शैलीले गर्दा उनका गीत सबै उमेर समूहका लागि सुपाच्य नहुन पनि सक्लान् ।तर उनले यतिबेला आफू सुध्रिएको घोषणा सार्वजनिक रुपमै गरेका छन् । आइतबार आयोजित ‘झुम्का हरायो’ बोलको गीत सार्वजनिक गर्न आयोजित समारोहमा दुर्गेशले अब सबै मान्छेले सुन्ने र हेर्ने टाइपको गीत बनाउने बताए ।‘उमेर पनि बढ्दै गएर होला, अब चाहिं सबै मान्छेले सुन्ने र सबै मान्छेको अगाडि हेर्ने टाइपको बनाउनुपर्छ भन्ने मेरो दिमागमा बस्यो । दुर्गेश बिग्रेर होइन, सुध्रिएर आउँदैछ,’ उनले भने । दुर्गेशले यो तीजमा ‘बिच्च बिच्चमा ७’ ल्याउने समेत बताए ।
उक्त पत्रकार सम्मेलनमा उनलाई तपाईंले छवि चेन्ज गर्न खोज्नुभएको हो ? भनेर समेत सोधिएको थियो ।जवाफमा उनले बढ्दो उमेर र साथीभाइको संगतले गर्दा आफूमा परिवर्तन आएको बताए । ‘छवि चेन्ज भन्दा पनि परिवर्तन अटोमेटिक हुने रहेछ । साथी सर्कलले हुने रहेछ,’ उनले भने, ‘पहिला–पहिला उट्पट्याङ गीतहरु हुन्थे । कतै सुन्न नमिल्ने पनि हुन्थे । अबदेखि राम्रा गीत मात्र गाउने सोचेको छु ।’